लमजुङ : सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएसन नेपाल (केमसान) चितवनले लमजुङका दुई सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। मध्यनेपाल नगरपालिका अन्तर्गतका ज्वाला आधारभूत विद्यालय र कल्याण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यसहित विभिन्न सामग्री हस्तान्तरण गरिएको हो।
केमसान चितवनले विद्यार्थीहरूका लागि कापी, कलमलगायत शैक्षिक सामग्री, फुटबल र भलिबल, स्पोर्ट्स ट्र्याकसूट तथा विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न वाटर डिस्पेन्सर उपलब्ध गराएको जनाएको छ। संस्थाका अध्यक्ष अर्जुन रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केमसानका केन्द्रीय द्वितीय उपाध्यक्ष समीर मरहठ्ठा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधारमा समेत टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै केमसान चितवनका जिल्ला सदस्य बसन्त पौडेलले व्यवसायिक गतिविधिसँगै समाजप्रतिको दायित्व निर्वाहलाई संस्थाले निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययन र खेलकुदमा थप उत्साहित बनाउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो। चितवनबाट लमजुङ पुगेर गरिएको यस सहयोग कार्यक्रमलाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएको छ।
सामग्री हस्तान्तरणपछि विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको केमसान चितवनको यो पहललाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij