सिरहा : माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसईई परीक्षाका बेला जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल तथा पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो। परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको ठहर गर्दै ती उपकरण बिहीबार नष्ट गरिएको हो।
बरामद सामग्री व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। उपसमिति संयोजक राजदेव यादवका अनुसार उपकरणहरू २४ घण्टासम्म पानीमा राखेर प्रयोगयोग्य नहुने गरी नष्ट गरिएको हो। नष्ट गरिएका मोबाइल र स्मार्टवाचको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
मोबाइल फिर्ता दिनुपर्ने माग उठे पनि परीक्षा मर्यादा कायम राख्न सम्बन्धित निकायले उपकरण नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मधेस प्रदेशमा एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij