Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चार अर्बमा महाराजगञ्जमा पाँचतारे होटल बनाउँदै कर्मा हस्पिटालिटी, ‘ले मेरेडियन’ ब्राण्डमा चल्ने

चार अर्बमा महाराजगञ्जमा पाँचतारे होटल बनाउँदै कर्मा हस्पिटालिटी, ‘ले मेरेडियन’ ब्राण्डमा चल्ने

काठमाडौं:  कर्मा हस्पिटालिटीले राजधानीको महाराजगञ्जमा पाँचतारे होटल बनाउने भएको छ। होटल बनाउन चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। होटलमा ७३ प्रतिशत बैंकको ऋण र २७ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।

प्रस्तावित होटलमा १७० कोठा हुनेछन्। हालसम्म ३२ प्रतिशत लगानी भइसकेको हस्पिटालिटीले जनाएको छ। उक्त रकम जग्गा खरिदमा लगानी भएको हो। प्रस्तावित होटल अझै विकासको प्रारम्भिक चरणमा छ। निर्माण चरण अझै सुरु हुन बाँकी छ।


कर्मा हस्पिटालिटीले २६ वर्षको प्रस्तावित होटल ‘ले मेरिडियन’ ब्रान्ड नाम प्रयोग गर्न लक्जरी म्यानेजमेन्ट होटल्स (बीभीआई) लिमिटेडसँग सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय चेन भएकाले यसले ठूलो विदेशी ग्राहक आधार बनाउनका साथै बजारीकरणमा सहयोग पुग्ने बताइएको छ।


होटल धेरै विदेशी दूतावासहरू नजिक हुनुका साथै प्रमुख पर्यटन केन्द्रको ठमेलको निकटता र राजधानी शहरको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सात किलोमिटर दुरी भित्र रहेको छ। यसले होटल व्यवसायका लागि ठूलो अवसर हुन सक्छ।

कर्माले होटलसँगै महाराजगञ्जमै रेसिडेन्सियल लक्जरी अपार्टमेन्ट पनि बनाइरहेको छ।

हाल उक्त होटल तथा अपार्टमेन्टको कन्सेप्ट तथा डिजाइन निर्माणको काम सम्पन्न भइसकेको छ। भारतमा धेरै ओटा मेरियट होलटहरूको डिजाइन र कन्सेप्टमा काम गरिसकेको नायक एण्ड एसोसिएट्सले डिजाइन तयार गरेको हो।

प्रस्तावित मेरिडियन होटलमा १ सय ७० रुम, एउटा क्यासिनो,बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हल हुनेछ।कर्मा हस्पिटालिटी २०२४ मा स्थापित भएको हो। कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ छ। कर्मा तेन्जिङ एकमात्र प्रवद्र्धक र कम्पनीका अध्यक्ष हुन्।

कम्पनीले कुल १६३ लक्जरी अपार्टमेन्ट बनाउने लक्ष्य लिएको छ। यसमध्ये पहिलो चरणमा ५६ युनिटको सेवायुक्त अपार्टमेन्ट परियोजना विकास गरिरहेको छ।रेसिडेन्समा तीनवटा हाइराइज बिल्डङ हुने भएका छन्। २.५ र ३.५ बीएचके अपार्टमेन्ट बनिरहेका छन्।

कर्मा समूहको रियल इस्टेट, शिक्षा र आतिथ्य क्षेत्रमा लगानी रहेको छ।

यस्तै कर्माले राजधानीको ठमेलमा रहेको होटल वैशालीलाई खरिद गरी पाँच तारे बनाउने भएको छ। प्रस्तावित पाँचतारे होटल बनाउन दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आगामी २०२८ सम्ममा पूर्णरूपमा व्यावसायिक सञ्चालन गर्ने योजना बनाएको छ।

कम्पनीले ठमेलमा अवस्थित होटल वैशालीको अवस्थित सम्पत्तिलाई ‘फोर पोइन्ट्स बाइ शेराटान’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा अधिग्रहण र पुनर्निर्माण गर्ने योजना बनाएको हो। प्रस्तावित होटलमा १०८ वटा कोठा हुने बाताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij