Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नेपाल–भारतबिच ऊर्जा सहकार्य निकै महत्त्वपूर्ण

नेपाल–भारतबिच ऊर्जा सहकार्य निकै महत्त्वपूर्ण

काठमाडौँ : भारतका लागि नेपाली राजदूत शंकर शर्माले वर्तमान परिस्थितिमा पनि नेपाल–भारत बिचको सम्बन्धमा कुनै असर नपरेका बताएका छन् ।

नेपाल फर्किन लागेको शर्माको सम्मानमा दिल्लीमा आयोजित एक कार्यक्रममा उनले भदौ २३ र २४ गतेको घटनापछि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटेपछि उत्पन्न अस्थिरता र अनिश्चितता बिच नेपाल–भारत सम्बन्धमा कुनै असर नपरेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

बालेन शाह नेतृत्वको सरकारले पछिल्लो समय भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । सोहीअनुसार शर्मा नेपाल फर्किने तयारीमा रहेका हुन् । सोही क्रममा हिजो आयोजित एक कार्यक्रममा उनले नेपाल–भारतको द्विपक्षीय सम्बन्धको भविष्य ऊर्जा सहकार्य अत्यन्त महत्त्वपूर्ण रहने बताए ।

सन् २०२५ मा नेपाल–भारतबीच करिब १२ वटा द्विपक्षीय बैठक सम्पन्न भएका  छन् । जुन पछिल्ला १०–१५ वर्षकै उच्च स्तरको उपलब्धि  रहेको उनले दाबी गरे । आगामी वर्षमा भारततर्फ नेपालको विद्युत् निर्यात अझ बढ्ने विश्वास बताउँदै उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेकाले इरानमाथि अमेरिका–इजरायल युद्ध पछि उत्पन्न ऊर्जा संकट व्यवस्थापन गर्न सहयोग पुगेको बताए ।

यस वर्ष मात्र ऊर्जा निर्यातबाट करिब एक हजार ३०० करोड भारतीय रुपियाँ आम्दानी हुने अनुमान गरिएको उनले बताए । पाइपलाइनका कारण नेपालमा पेट्रोलिय पदार्थको ठुलो समस्या नरहे पनि एलपी ग्यासमा केही चुनौती रहेको बताउँदै राजदूत शर्माले मलको आपूर्ति अवस्था पनि नियन्त्रणमै रहेको दाबी गरे। भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा यस विषयमा थप छलफल हुने अपेक्षा गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij