Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुकुम्बासी बस्तीमा ६ बुँदे माइकिङ: घर टहरा साँझ ७ बजेसम्म खाली गर्नू, बाधा पुर्‍याए कारबाही

सुकुम्बासी बस्तीमा ६ बुँदे माइकिङ: घर टहरा साँझ ७ बजेसम्म खाली गर्नू, बाधा पुर्‍याए कारबाही

काठमाडौँ : शुक्रबार बिहानैदेखि थापाथली  सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ। गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा सजिएका छन्। केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन्, भने कतिपय घरबाहिर अझै पनि मानिसहरू आफ्नो थोरै सम्पत्ति मिलाउँदै, जोगाउँदै छन्।

सरकारले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका हुन्। तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ उनीहरूमा। केही भने सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा ६ बुँदे माइकिङ गरिरहेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गाका संरचना हटाउन ६ बुँदे सूचना जारी गरिसकेको छ। प्रशासनले जारी गरेको ६ बुँदाको जानकारी महानगर प्रहरीले उक्त क्षेत्रमा माइकिङ गरेर जानकारी दिइरहेको छ।

यस्ता छन् महानगर प्रहरीले माइकिङ गरेर जानकारी दिइरेहका ६ बुँदे सूचना

१. यसरी अवैध रूपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७:०० बजे भित्रमा खाली गर्नुहोला। आफैँले सार्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्नुहोला । सुरक्षाकर्मीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउनेछ।

२. यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशु पंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला ।

३. घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला । यस कार्यका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला ।

४. मिति २०८३ वैशाख १२ गते बिहान ६:०० बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुनेछ । त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ । यस स्थानबाट उठाइएका सबै व्यक्ति तथा परिवारलाई सरकारले तोकेका विभिन्न बसोबासको आधारभूत न्यूनतम सुविधा प्राप्त स्थानहरूमा राखिनेछ ।

५. तपाईंहरूलाई सुरक्षित रुपमा बसोबासको व्यवस्था भएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुमवासीहरूको लगत लिने र स्क्रिनिङको कार्य तत्काल सुरु हुनेछ ।

६. आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने गरी तयारी भइरहेको छ । यस कार्यका लागि तपाईहरूले सहयोग गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij