सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ। अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो। सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो।
त्यसक्रममा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्था शिल गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए। अनुगमन टोलीले सर्लाही पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धिगणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिकरनिलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र नाम नभएको एउटा अल्ट्रासाउन्ड गर्ने क्लिनिक बन्द गराएको छ।
शिल गरिएकामध्ये चार वटा स्वास्थ्य संस्था दर्ता नभएको पाइएको छ भने अन्य सात वटा स्वास्थ्य संस्था अनुगमन टोली आएको सुइँको पाएपछि बन्द गरेर सञ्चालक फरार भएका पाइएको सहायक सिडिओ घिमिरेले बताए। सञ्चालक नभेटिएको तथा बन्द अवस्थामा रहेका स्वास्थ्य संस्थामा अनुगमन टोलीले शिल गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij