Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पेट्रोलियम पदार्थमा लगाइएको अनावश्यक कर हटाउन सरकारसँग प्रभु साहको माग

पेट्रोलियम पदार्थमा लगाइएको अनावश्यक कर हटाउन सरकारसँग प्रभु साहको माग

काठमाडौँ : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको अनावश्यक करहरू हटाउन माग गरेका छन् । सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममूल्यमै पेट्रोलियम पदार्थ पाउन सक्ने उनको भनाइ छ । 

काठमाडौँको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै आजपा अध्यक्ष साहले प्रतिलिटर पेट्रोल १४९ रुपैयाँमा किनेर २१९ रुपैयाँमा बेच्नुले सर्वसाधारण महँगीको मारमा परेको बताए । 

‘अन्तर्राष्ट्रिय बजार बमोजिम आइओसीबाट प्राप्त औसत कुरमुक्त मूल्य १४९ रुपैयाँ १७ पैसामा एक लिटर पेट्रोल किनेर सरकारले उपभोक्तालाई २१९ रुपैयाँमा बेचिरहेको छ । यसमा विभिन्न नाममा कर, सेवा शुल्क लगायतका समावेश गरेर २१९ रुपैयाँमा किन बेच्नुपर्‍यो । यो अनावश्यक कर सरकारले हटायो भने उपभोक्ताले सजिलै र सहज रूपमा सस्तोमै पेट्रोल पाउन सक्छ,’ आजपा अध्यक्ष साहले भने । 

नेपाल आयल निगमले १४९ रुपैयाँमा किनेको एक लिटर पेट्रोलमा सरकारी भन्सार तथा प्रज्ञापन शुल्क/कर, सडक मर्मत सम्भार शुल्क, प्रदूषण शुल्क, पूर्वाधार कर, हरित कर, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोष शुल्क गरी ५१ रुपैयाँ ५१ पैसा र निगमको प्रशासनिक एवं विक्री खर्च, बीमा खर्च, अन्य खर्च गरेर २ रुपैयाँ २७ पैसा खरिद मूल्यमा जोडेको छ । यस्तै निगमले ढुवानी भाडा खर्च, पेट्रोलियम विक्रेताको खर्च एवं मुनाफा समेत विभिन्न शुल्क र करहरू जोडेर २१९ रुपैयाँ बेचिरहेको छ । 

आजपा अध्यक्ष साहले निगमले खरिद गरेकै मूल्यमा भाडा खर्च र विक्रेताको खर्च एवं मुनाफा मात्रै जोडेर सबै कर हटाउँदा प्रतिलिटर पेट्रोल एक सय ६३ रुपैयाँमा उपभोक्ताले पाउन सक्ने बताए । तर सरकारले अनावश्यक कर, शुल्कहरू लगाएर सस्तो मूल्यमा किनेर उपभोक्तालाई महँगो मूल्यमा बेच्ने कार्य बन्द गर्नुपर्ने उनले बताए ।  

अहिले भारतको विहार राज्यमा प्रतिलिटर पेट्रोल १७० नेपाली रुपैयाँमा पाइरहेको छ । तर नेपाल आयल निगमले भारतबाट खरिद गरेको त्यही पेट्रोल नेपालमा विभिन्न कर, शुल्क लगाएर महँगोमा बेचिरहेको छ । यस्तै डिजेल, मटितेल सहितका पेट्रोलियम पदार्थमा सरकारले लगाएको अनावश्यक कर हटाएर उपभोक्तालाई बेच्न आजपा अध्यक्ष साहले सरकारसँग माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij