काठमाडौँ : नेपाल आयल निगमले वर्ष २०८२ को अन्तिम दिन आज पेट्रोलियम पदार्थको बिक्रीमा ठूलो घाटा व्यहोर्नु परेको जनाएको छ।
देशभर चर्को विरोध भइरहेका वेला आज एक विज्ञप्ति जारी गरी निगमले भारतबाट खरिद गरिएको मूल्यभन्दा कममा बेच्नुपर्दा निगमलाई १५ दिनमै ७ अर्ब ८१ करोड ६१ लाख घाटा रहेको जानकारी दिएको छ।
आज जारी प्रेस विज्ञप्तिअनुसार निगमले ३१ मार्चमा प्राप्त मूल्य अनुसार पेट्रोल प्रतिलिटर २२१.३२, डिजेल २९४.९९, मट्टीतेल २४३.७० मा खरिद गरिरहेको जनाएको छ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २५७.९२, बाह्यतर्फ २६३.९ र एलपी ग्यास २ हजार ३४१.२५ रुपैयाँको दरले खरिद गरिरहेको जनाएको छ।
हालको विक्री मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २.३२, डिजेलमा ८७.९९ र मट्टीतेलमा ३६.७० घाटा भइरहेको दावी निगमको छ।
आयल निगमका अनुसार पछिल्लो १५ दिनमा पेट्रोलमा ७ करोड ६८ लाख, डिजेलमा ७ अर्ब २३ करोड ९३ लाख, मट्टीतेलमा ३ करोड १७ लाख घाटा व्यहोरेको छ।
यस्तै, हवाइ इन्धन आन्तरिकमा २४ लाख, बाह्यमा ३ करोड ८४ लाख र एलपी ग्यासमा ५० करोड ४३ लाख घाटा भएको छ।
कुल मिलाएर १५ दिनमा ७ अर्ब ८१ करोड ६१ लाख घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij