काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । चैत २३ गते प्रधानमन्त्री कार्यालयमा बुझाइएको विवरणअनुसार उनीसँग करिब १५ तोला सुन, १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा जम्मा भएको नगद, कम्पनीका सेयर र पैतृक जग्गा तथा सम्पत्ति रहेको छ । मन्त्री गौतम दोस्रो पटक सांसद भएकी हुन् भने पहिलो पटक मन्त्री बनेकी हुन् ।
मन्त्री गौतमले चितवनस्थित भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको उल्लेख गरेकी छन् । यो जग्गा सासूससुराको नाममा रहेको पैतृक सम्पत्ति भनी विवरणमा जनाइएको छ ।
उनको विभिन्न बैंक खातामा नगद मौज्दात रहेको देखिएको छ । एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको उल्लेख छ ।
मन्त्री गौतमसँग विवाहमा प्राप्त भएको १० तोला सुन र ५ तोला पैतृक सुन गरी कुल १५ तोला सुन रहेको उल्लेख गरिएको छ। यसका साथै, ९ तोला चाँदी र विवाहमा प्राप्त भएको १ तोला हिरा पनि सम्पत्ति विवरणमा जनाइएको छ ।
सेयरतर्फ, ग्लोबल हिमायल ट्रुक एन्ड ट्रेड्सको ५० प्रतिशत सेयर उनको नाममा रहेको देखाइएको छ, जसलाई पैतृक सम्पत्तिबाट प्राप्त भएको भनिएको छ । त्यस्तै, सोपन मल्टीपल कम्पनीमा ६५०० कित्ता सेयर रहेको उल्लेख छ, यो भने तलबबाट प्राप्त भएको जनाइएको छ ।
गाडी खरिद गर्ने प्रयोजनका लागि उनले राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख रुपैयाँ ऋण तिरिएको उल्लेख गरेकी छिन् भने एभरेस्ट बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाइएको छ । सवारीसाधनतर्फ, मन्त्री गौतमसँग २६ लाख रुपैयाँको गाडी रहेको छ।
यसैगरी, उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँको गाडी रहेको उल्लेख छ, जुन ऋण र तलबबाट किनिएको जनाइएको छ । २ लाख ७५ हजार रुपैयाँको एक थान स्कुटर पनि विवरणमा खुलाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij