Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सोमनाथ सापकोटा एनआरएनए आईसीसीको प्रवक्तामा नियुक्त

सोमनाथ सापकोटा एनआरएनए आईसीसीको प्रवक्तामा नियुक्त

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उप–महासचिव सोमनाथ सापकोटा २०२५–२०२७ कार्यकालका लागि आईसीसीको प्रवक्तामा नियुक्त भएका छन्।

सन् २००३ मा एनआरएनएको स्थापना कालदेखि नै सक्रिय रहेका सापकोटा विश्वभर फैलिएको नेपाली डायस्पोरा सञ्जाल सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनले सन् २००६ मा एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्यका रूपमा नेतृत्व यात्रा सुरु गरेका थिए भने सन् २००९ मा एनआरएनए एनसीसी डेनमार्कका संस्थापक अध्यक्ष बनेर नेपाली समुदायलाई संगठित बनाउन उल्लेखनीय भूमिका खेलेका थिए।

एनआरएनए आईसीसीमा उनले विभिन्न महत्वपूर्ण पदहरू सम्हाल्दै आएका छन्। उनी आईसीसी सदस्य (२०११–२०१३), युरोपका लागि उप–क्षेत्रीय संयोजक (२०१३–२०१५), सल्लाहकार (२०१५–२०१७), आईसीसी सदस्य (२०१७–२०१९), सह–कोषाध्यक्ष (२०१९–२०२१), प्रवक्ता (२०२१–२०२३) तथा उप–महासचिव (२०२३–२०२५) का रूपमा कार्यरत थिए।

सापकोटा एनआरएनए समुदायमा विनम्र, सकारात्मक सोच भएका तथा मिडिया–मैत्री व्यक्तित्वका रूपमा चिनिन्छन्। विभिन्न समूहबीच समन्वय गर्दै सहमति निर्माण गर्न सक्ने क्षमताका कारण उनी संगठनभित्र “थिंक ट्यांक” का रूपमा समेत परिचित छन्।

एनआरएनएभित्र देखिएका आन्तरिक विवाद समाधानका लागि गठन गरिएको संवाद समितिमा रहेर उनले संगठनलाई एकताबद्ध बनाउन सक्रिय भूमिका खेलेका थिए। साथै, एनआरएनएको विधान र संस्थागत संरचनाबारे गहिरो ज्ञान राख्ने व्यक्तिका रूपमा पनि उनी परिचित छन्।

एनआरएनएसँगै उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने कार्यमा पनि योगदान दिँदै आएका छन्। उनले डेनमार्क र माल्टाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वेल्सका लागि पर्यटन सद्भावना दूत तथा हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा नियुक्त पर्यटन प्रवर्द्धकका रूपमा कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट