Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटमा हावाहुरीको ताण्डव: सयौँ बिघाको केरा र मकै बाली सखाप

रौतहटमा हावाहुरीको ताण्डव: सयौँ बिघाको केरा र मकै बाली सखाप

रौतहट : सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई मर्माहत बनाएको छ। करिब दुई घण्टासम्म चलेको तीव्र गतिको हुरीले जिल्लाको उत्तरी भेगमा ठूलो धनमालको क्षति पुर्‍याएको छ। विशेषगरी चन्द्रपुर नगरपालिकाको गैडाटार क्षेत्रमा लगाइएको केरा खेती र आसपासका क्षेत्रको मकै बाली हुरीले सोत्तर बनाएपछि किसानहरूको बिचल्ली भएको हो।

स्थानीयका अनुसार पाक्ने बेला भएका केराका बोटहरू जरैदेखि उखेलिएका छन् भने कतिपय बीचैबाट भाँचिएका छन्। सयौँ बिघामा फैलिएको व्यावसायिक केरा खेती नष्ट हुँदा किसानको लाखौँको लगानी बालुवामा पानी भएको छ। स्थानीय काजीमान माझीका अनुसार पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा पुगेका छन्।

हावाहुरीको असर मकै बालीमा पनि उस्तै देखिएको छ। चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडाहरूमा लगाइएको मकै बालीमा हुरीले ठूलो क्षति पुर्‍याएको छ।
घोगा लाग्ने महत्वपूर्ण समयमा मकैका बोटहरू ढलेपछि यस वर्ष उत्पादनमा भारी गिरावट आउने निश्चित भएको छ। वृन्दावन नगरपालिका–१ मा मात्रै करिब २०० बिघा क्षेत्रफलको मकै बाली नष्ट भएको प्रारम्भिक अनुमान छ। स्थानीय किसान प्रेमशंकर यादवले मलखादको अभाव र मौसमको अनिश्चितता झेल्दै हुर्काएको खेती भित्र्याउने बेलामा प्रकृतिले ठगेको भन्दै गुनासो गरे।

कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलले हावाहुरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको पुष्टि गरेका छन्। हाल सबै क्षेत्रबाट क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको र प्रारम्भिक रिपोर्टले किसानलाई ठूलो नोक्सानी भएको देखाएको उनले बताए।

प्राकृतिक विपत्तिले हरेक वर्ष किसानलाई सास्ती दिने गरे पनि राज्यबाट उचित क्षतिपूर्ति र राहत नपाउँदा यस क्षेत्रका किसानहरू खेतीपातीबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै आक्रोशित छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट