काठमाडाैँ : निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो ।
आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरी आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृतको व्यवस्थापन गरेका छौँ । हामीले सुक्ष्म अनुगमनको पनि व्यवस्था गरेका छौ । हामीले कुनैपनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ । सोअनुसार नै मतदान केन्द्र तथा मतदान स्थलको व्यवस्थापन गरेका छौँ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, यौनिक अल्पसंख्यकहरु लाइनमा बस्नु पर्दैन । उहाँहरुलाई तुरुन्तै मतदान गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । आयोगले आम मतदातालाई सहज ढंगले मतदान गर्न पाउने गरि व्यवस्थापन गरिसकेको अवस्था छ ।’ आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij