Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

शक्ति बस्नेत र निकोलस भुसाललाई २५-२५ हजार रुपैयाँ जरिवाना

शक्ति बस्नेत र निकोलस भुसाललाई २५-२५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

त्यसैगरी श्रमशक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले उक्त जानकारी दिए।

दुईजना प्रतिनिधिसभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए। आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि  आयोगले कारबाही स्वरूप २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको हो। 

जबराले भने, ‘अहिले हामीले आचारसंहिता उल्लंघन गरेका दुईजना उम्मेदवार र एक राजनीतिक दललाई २५-२५ हजार जरिवाना तिराएका छौँ। दुईजना कर्मचारीलाई सचेत गराएका छौँ। अहिले देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टीकरण सोधेका छौँ। केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टीकरण सोधिएको छ।’

आयोगमा देशभर ३ सयभन्दा बढी आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टीकरण सोधिएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij