Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

साेमबार पार्टीको निर्वाचन क्षेत्र नं १ मूल निर्वाचन परिचालन समितिद्वारा आयोजित चुनावी आमसभामा उनले अब भाषणभन्दा कामबाट परिणाम देखाउनुपर्ने र त्यही आवश्यकताबोध गरी पार्टी चुनावमा होमिएको बताए।

जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । जलस्रोत व्यवस्थापनभित्र सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीलगायत विकासका महत्त्वपूर्ण क्षेत्र जोडिने भएकाले यसको एकीकृत योजना बनाएर अघि बढ्न आफूले ध्यान दिने बताए।

“देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ । ऊर्जा विकास र वितरण प्रणाली विस्तार, लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालोतर्फ लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक ठानेर हाम्रो पार्टी चुनावमा आएको छ”, अध्यक्ष घिसिङले भने।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको बताए। अध्यक्ष घिसिङले सही व्यक्ति, सही स्थानमा पुगे विकासले गति लिने उल्लेख गर्दै नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान पनि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राखे । 

अध्यक्ष घिसिङले सामाजिक न्याय स्थापना, विभेद तथा विसङ्गति अन्त्य, क्षमतामूलक समाज निर्माण तथा युवालाई स्वदेशमै रोजगारी सृजना गर्न सकेमात्र देशको अर्थतन्त्र आत्मनिर्भर बन्ने र त्यसका लागि आफ्नो पार्टीले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij