Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् । वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नं ३ दानामा रु २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा नं ६ घारमा रु ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा रु एक करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको उनले बताइन् ।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गरेका छन् । अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् ।

गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए । दोसल्लेका किसानले प्रतिकिलोग्राम रु २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट