Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

देखिन छाडे गोरुगाडा

देखिन छाडे गोरुगाडा

बाँके : तराईका ग्रामीण भेगमा देखिने गोरुगाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो । एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा अन्न पुर्‍याउन गोरुगाडाकै प्रयोग हुन्थ्यो ।

तर, अहिले त्यसको ठाउँ ट्रयाक्टर, टेलर र हाते ट्र्याक्टर (पावर टिलर) ले लिएका छन् । ट्र्याक्टरले धेरै सामान छिटो र छरितो पुर्‍याउने भएपछि किसानहरूको आकर्षण गोरुगाडाबाट हट्दै गएको छ । “पहिले बिहेबारीमा जन्ती जान र टाढाका आफन्त भेट्नसमेत गोरुगाडाकै लस्कर लाग्ने गर्दथ्यो तर, अहिले ग्रामीण सडक कालोपत्र हुनु र मोटरसाइकल तथा अटो रिक्साको सङ्ख्या बढ्नुले गोरुगाडालाई ओझेलमा पारेको छ”,नेपालगञ्ज–१९ सुईयागाउँ निवासी ललवा माहुतले भने,“अहिले त घर घरमा ट्याक्टर र गाडी राख्न थालेपछि गोरुगाडा लोप भएर गए ।”

उनका अनुसार, गोरुगाडा हराउनुको अर्को मुख्य कारण गोरु पाल्ने किसानको सङ्ख्या घट्नु पनि हो । खेत जोत्नका लागि ट्याक्टरको प्रयोग बढ्न थालेपछि किसानले गोरु पाल्न छाडेका छन् । गोरु नै नभएपछि गाडा थन्किएका छन् भने कतिपय ठाउँमा गाडा बनाउने डकर्मी र सिकर्मीलेसमेत आफ्नो पेसा परिवर्तन गरिसकेका छन् । जतिबेला तराईमा मोटर गाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन् । हरेक किसान र व्यापारीसँग घर घरमा गाडा हुन्थे । किसान खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनै गाडाको प्रयोग गर्ने गरेको राप्तीसोनारी गाउँपालिका–३ का स्थानीय अगुवा तुलसी थारुले बताए।

“यात्रा गर्दासमेत गोरुगाडा र राँगागाडाको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्नसमेत गोरुगाडाको प्रयोग गर्ने चलन थियो”,उनले भने,“अहिले गाउँमा कहीँकतै गोरुगाडा देखिने गरेपनि गाडा बनाउने कालीगढ पाइदैन ।”विशेष गरी गाउँमा काठे गोरुगाडाको प्रयोग हुने गरेको थियो । गोरुगाडालाई तान्न गोरु, राँगोसमेतलाई अप्ठ्यारो हुनुका साथै ढुवानी गर्दा कम सामग्री अट्ने, काठको अभाव लगायतका कारणले यसको प्रयोग घट्दै गएको उनको भनाइ छ ।

आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै गएको राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारुले बताए। विगतमा लामो तथा छोटो दुरीका यात्रामा गोरुगाडा कुदाएको स्मरण गर्दै उनले भने,“जमाना धेरै अगाडि बढिसक्यो, अहिले घर घरमा मोटरसाइकल, ट्याक्टर र अन्य आधुनिक गाडी आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसकेको छ ।”

गोरुगाडा बनाउने काठसमेत सहजै उपलब्ध हुँदैन । जसका कारण दिनानुदिन इतिहास सम्झाउने पुरानो सवारीसाधन गोरुगाडा लोपहुँदै गएको छ, तर लोपोन्मुख अवस्थामा रहेको गोरुगाडाको अहिले संरक्षण हुन नसक्दा गाउँ घरमा त्यसै फालिएका छन् ।

“अहिलेका केटाकेटीले त गोरुगाडा देख्नै पाउँदैनन् । हामीले यही गाडा चढेर कति मेला–बजार गयौँ, तर अब यो सबै सम्झनामा मात्र सीमित हुने भयो”, नेपालगञ्ज–१९ वसुदेवपुरका ७८ वर्षीय स्थानीय किसान हनिफ खानले दुःख व्यक्त गरे । गोरुगाडा इन्धनमुक्त र वातावरणमैत्री साधन हराउँदै जानु दुखद् पक्ष हो । थारु समुदाय र मधेसी संस्कृतिसँग नजिकबाट जोडिएको यो साधन लोपहुँदा एउटा जीवन्त इतिहास र पहिचान पनि मेटिँदै गएकोमा वातावरण संरक्षणमा क्रियाशील नेपालगञ्जका तेजविक्रम शाह चिन्ता व्यक्त गर्छन् । उनका अनुसार अहिले केही पर्यटकीय क्षेत्र र होटलहरूले पर्यटकलाई मनोरञ्जन दिनका लागि मात्र साङ्केतिक रूपमा गोरुगाडा राख्ने गरेका छन् । तर, वास्तविक रूपमा सामान ओसार्ने यो पुरानो इञ्जिन अब गाउँका सडकबाट पूर्ण रूपमा बिदा हुने तरखरमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij