Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पूर्वमन्त्री नन्दन दत्तको निधन

पूर्वमन्त्री नन्दन दत्तको निधन

सुनसरी : पूर्वमन्त्री नन्दन दत्तको निधन भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित मधुवन घर भएका दत्तको ब्रेनहृयामरेजका कारण शुक्रबार राति निधन भएको हो । ७० वर्षीय दत्तको स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोबेल मेडिकल कजेजमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

तत्कालीन मधुवन गाविसमा दुईपटक कांग्रेसबाट अध्यक्ष समेत भइसकेका दत्त २०६४ सालको संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित बनेका थिए । नेपाली राजनीतिमा मधेशकेन्द्रित राजनीतिक धारबाट उदाएका दत्त फोरम विभाजित भएपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा जयप्रकाश गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकको तर्फबाट कृषीमन्त्री बने ।

२०६५ भदौ २ गते सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर गाउँ पस्दा साबिकका चार गाविसका ४२ हजार मानिस प्रभावित भएका बेला सरकारले गठन गरेको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण उच्चस्तरीय आयोगको संयोजकको रुपमा पनि उनले काम गरेका थिए ।

दत्तले कोशीटप्पु वन्यजन्तु आरक्ष र सप्तकोशीपीडितका लागि जग्गा सट्टाभर्ना कार्यदलको नेतृत्व गरेका थिए । मुख्यतः मधेश आन्दोलन, समानुपातिक प्रतिनिधित्व, संघीयता र समावेशी अधिकारका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका दत्त पछिल्लो समय नेपाली कांग्रेसमै फर्किएर केन्द्रिय सदस्य बनेका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । केही वर्षयता विराटनगर तीनटोलियास्थित घरमा बस्दै आएका दत्तको शनिबार दिउँसो सिंगिया घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट