काठमाडौँ– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ अहिले राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ।
यस क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन)बीचको प्रत्यक्ष प्रतिस्पर्धाले चुनावी माहोललाई निकै चर्काएको छ।
मंगलबार सम्पन्न उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा दुवै पक्षको उपस्थिति र तयारीमा उल्लेख्य भिन्नता देखियो। एमाले अध्यक्ष ओलीको टोली व्यवस्थित र योजनाबद्ध देखिएको थियो भने रास्वपाका तर्फबाट उम्मेदवारी दिएका बालेन शाहको दर्ता प्रक्रिया भने केही अव्यवस्थित देखियो।
कलाकार अर्जुन घिमिरे ‘पाँडे’को नेतृत्वमा निर्वाचन कार्यालय पुगेको टोलीमा आधारभूत तयारीको कमी स्पष्ट देखिन्थ्यो।
बालेन स्वयं निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भए पनि उनले फाराम भरेका थिएनन्। नागरिकता र मतदाता परिचयपत्रको प्रतिलिपि समेत साथमा नभएकाले तत्काल फाराम भर्ने प्रक्रिया अघि बढ्न सकेन।
उनका कार्यकर्ताहरू फाराम कसरी भर्ने भन्ने विषयमा अनभिज्ञ देखिए। अन्ततः पार्टीका कानुन जान्ने नेता यज्ञमणि न्यौपाने आएर फाराम भरे।
त्यस क्रममा आचारसंहिता लागिसकेकाले कर्मचारीहरूले सहयोग गर्न अस्वीकार गरे। सुरुमा फाराम भर्न कर्मचारीलाई आग्रह गरिएको भए पनि अस्वीकार भएपछि न्यौपानेले नै फाराम पूरा गरे। आवश्यक १० हजार रुपैयाँ धरौटी रकम समेत टोलीसँग तत्काल उपलब्ध नभएकाले बाहिरबाट पैसा मगाउनुपर्ने अवस्था आयो।
यस घटनाले झापा–५ मा हुने प्रतिस्पर्धा केवल दुई नेताबीचको मात्र नभई व्यवस्थापन, संगठनात्मक क्षमता र राजनीतिक परिपक्वताको पनि परीक्षा हुने संकेत दिएको छ।
यो निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। ओलीको जितले एमालेको नेतृत्वलाई अझ मजबुत बनाउन सक्छ भने बालेनको सफलता रास्वपाको विस्तार र नयाँ राजनीतिक संस्कृतिको उदयको संकेत हुनेछ।
झापा–५ को चुनावी प्रतिस्पर्धा यसरी देशभरका मतदाताका लागि राजनीतिक भविष्यको दिशानिर्देशक बन्ने सम्भावना छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij