कोपनहेगन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रण लिने धम्की दिएपछि डेनमार्कले आफ्नो सो अर्ध–स्वायत्त क्षेत्रमा थप सैनिक पठाएको छ । डेनमार्कको सरकारी टिभी डीआरलगायत स्थानीय सञ्चारमाध्यमका अनुसार रोयल डेनिस आर्मीका प्रमुख पिटर बोइसेनको साथमा ठूलो संख्यामा सैनिक सोमबार साँझ पश्चिमी ग्रिनल्याण्डको काङ्गेरलुसुआकमा अवतरण गरेका छन् ।
डेनमार्कको रक्षा मन्त्रालय र सशस्त्र बलले यसबारे तत्काल औपचारिक प्रतिक्रिया नदिए पनि पछिल्लो तैनाथीलाई प्रतीकात्मक मात्र नभई सुरक्षा सन्देशका रूपमा हेरिएको छ । सोमबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार नगरेपछि तनाव झनै बढेको हो । उनले यसबारे सोधिएको प्रश्नमा ‘नो कमेन्ट’ भनेका थिए ।
यसअघि ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरेलाई पठाएको सन्देशमा आफूले यस वर्षको नोबेल शान्ति पुरस्कार नपाएपछि अब शुद्ध रूपमा शान्तिको मात्र सोच राख्न बाध्य नरहेको उल्लेख गरेका थिए ।
ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति बलियो बनाउने पक्षमा डेनमार्क देखिएको भए पनि भूभाग बिक्री गर्न नहुने र बल प्रयोग भए नाटोको अन्त्य हुने चेतावनी उसले दिँदै आएको छ । ग्रिनल्याण्डलाई अमेरिकी नियन्त्रणमा ल्याउनुपर्ने ट्रम्पको अडानले अमेरिका–युरोप सम्बन्ध दशकौँयताकै कमजोर अवस्थामा पुगेको छ । यसले अमेरिका र डेनमार्कसमेत सदस्य रहेको ३२ राष्ट्रको ट्रान्स–एटलान्टिक सुरक्षा गठबन्धनको भविष्यप्रति गम्भीर चिन्ता पैदा गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij