कैलाली : कैलाली क्षेत्र नम्बर ५ मा प्यारेलाल रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनी नेपाली कांग्रेसका नेता तथा पूर्व संविधान सभा सदस्य पनि हुन्। उनले मुख्य निर्वाचन अधिकृत कार्यालयमा बिहान १० बजे उम्मेदवार दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत भुवनसिंह थापाले जानकारी दिए।
उनले गत बैशाखमा साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेका थिए। नेपाली कांग्रेस पार्टी कुलीन वर्गहरुको पार्टी रहेको आरोप लगाउँदै तल्लो स्तरको आदिवासी, थारु, राना थारुलाई शोषण गरेर राखेको उनको आरोप थियो ।
यसअघि निर्वाचनमा आफू पार्टीका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयास गरे पनि हारेको अवस्थामा अपजस आफूलाई आउने गरेको रानाको भनाइ थियो । आफूलाई पार्टी सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवासम्मले बेवास्ता गर्नुका साथै नभएको आक्षेप मात्रै लगाएको रानाको आरोप थियो।
कांग्रेस पार्टी परित्याग गरे पनि आफू गणतन्त्रवादी र धर्मनिरपेक्षताको पक्षपाती रहेकोले सबैभन्दा पहिले आफू जनतामाझ जाने र त्यसपछि कुनै पार्टीसँग सहकार्य गर्ने उनले बताएका थिए । तर तत्काल कुनै दलमा प्रवेश गर्ने सोच नभएको उनको भनाइ थियो। उनले यस पटक रानाथारु समुदायको पकड क्षेत्र मानिने कैलाली ५ मा आफ्नो जित सुनिश्चित रहेको बताए।
यसपटक प्रमुख कुनै पनि दलले रानाथारु समुदायबाट उम्मेदवार बनाएका छैनन् । आफ्नो समुदायको हकहित र समग्र कैलाली–५ का मतदाताले आफूलाई जिताउने उनको दाबी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij