काठमाडौँ : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले मालपोत कार्यालयमा काम गर्ने बिचौलियाको पहिचान भएको बताएका छन् । मालपोत कार्यालयमा सेटिङमा सरुवा हुने गरेको भन्ने व्यापक गुनासो आउने गरेको अवस्थामा उनले बिचौलिया पत्ता लागेको बताएका हुन् ।
‘हामीले मान्छे पत्ता लगाएका छौँ । अधिकृतस्तरको कर्मचारी रहेछ, विभागमा बसेर लामो समयदेखि बिचौलियाको काम गर्दो रहेछ,’ इङ्नाम भन्छन्, ‘मैले तत्कालै सरुवा गर्न भनेको छु, डोल्पातिर पठाइदिनु भनेको छु ।’
उनले ती कर्मचारीको नाम भने उल्लेख गरेनन् । केही दिनअघि मात्रै मन्त्री इङ्नामले काठमाडौँ उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखको सरुवा गराएका छन् । ललितपुर कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घमिरे र चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।
सरुवाको प्रस्ताव गर्नुअघि इङ्नामले केही मालपोत कार्यालयमा छड्के अनुगमन गरेका थिए, कार्यालयहरूमा सेवाग्राही, बिचौलिया र कर्मचारी चिन्नसक्ने अवस्था नरहेको, महत्त्वपूर्ण फाइल र ढड्डाहरू अनधिकृत व्यक्तिले लैजाने गरिएको जस्ता समस्या देखिएको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij