Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

विकासको खाका दिनेलाई मात्र चुनावको टिकट !

विकासको खाका दिनेलाई मात्र चुनावको टिकट !

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको जनता लोकतान्त्रिक पार्टी (जलोपा)ले विकासको स्पष्ट खाका पेस गर्नेलाई मात्र चुनावमा टिकट दिने मापदण्ड बनाएको छ ।  जलोपाको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनौटका लागि मापदण्ड बनाएको हो । सो मापदण्ड अनुसार उम्मेदवारको सिफारिस भए मात्र टिकट दिने जलोपाका अध्यक्ष अशोक यादवले बिहीबार बताए ।

सम्बन्धित निर्वाचन क्षेत्रका जनताको भावना, आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै विकासको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने क्षमता भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । सिफारिस गरिने उम्मेदवारले निर्वाचन क्षेत्र विकाससम्बन्धी अधिकतम पाँच मिनेटको अडियो वा भिडियो सामग्री पार्टीको आधिकारिक ह्वाट्सएप नम्बरमा अनिवार्य रूपमा पठाउनुपर्ने भनिएको छ ।

निर्णय कार्यान्वयनका लागि पार्टीले सम्बन्धित जिल्ला इन्चार्जहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रबाट योग्य, इमानदार, स्वच्छ छवि भएका तथा समाज सेवामा समर्पित व्यक्तिहरूको नाम सिफारिस गर्न जलोपाले निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको फौजदारी अभियोग नलागेको, राजनीतिलाई पेसा नभई सामाजिक सेवाको माध्यमका रूपमा लिने स्पष्ट प्रतिबद्धता भएको तथा युवालाई विशेष प्राथमिकता दिनुपर्ने मापदण्ड तोकिएको छ ।

जलोपाले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । पार्टीले जिल्ला इन्चार्जहरूलाई २०८२ पुस २५ गतेभित्र सिफारिस गरिएका उम्मेदवारहरूको नाम र आवश्यक कागजात पार्टी केन्द्रीय कार्यालयमा पत्राचार वा इमेलमार्फत पठाउन निर्देशन दिएको छ । प्राप्त नाम र कागजातहरूको आधारमा पार्टी केन्द्रीय संसदीय बोर्डको बैठकले अन्तिम निर्णय लिने अध्यक्ष यादवले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij