काठमाडाैँ : एसियाली विकास बैङ्क र बङ्गलादेश सरकारले देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने ३५ किलोमिटर लामो रेलमार्ग स्तरोन्नति गर्ने उद्देश्यले कुल ६८ करोड ८० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।एसियाली विकास बैङ्कका अनुसार यस परियोजनामार्फत ढाका–चट्टोग्राम–कक्सबजार मार्गमा सहज, सुरक्षित र प्रभावकारी यातायात सञ्जाल विकास गरिनेछ, जसले क्षेत्रीय यातायात क्षमतामा वृद्धि गर्नुका साथै आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ ।
ढाकामा आयोजित हस्ताक्षर समारोहमा बङ्गलादेश सरकारका आर्थिक सम्बन्ध विभागका सचिव मोहम्मद शाह्रिआर कादेर सिद्दिकी र बङ्गलादेशका लागि एसियाली विकास बैङ्कका देशीय निर्देशक हो युन जोङले आ–आफ्नो तर्फबाट सम्झौतामा हस्ताक्षर गरे ।
समारोहमा बोल्दै जोङले यो परियोजनाले ढाका र कक्सबजारबीचको रेल सेवालाई अझ मजबुत, भरपर्दो र प्रभावकारी बनाउने तथा सडक यातायातबाट रेल यातायाततर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने बताए।
एसियाली विकास बैङ्कका अनुसार ट्रान्स–एसिया रेल सञ्जालको महत्वपूर्ण हिस्सा रहेको ढाका–चट्टोग्राम–कक्सबजार मार्गबाट हाल कुल यात्रु आवागमनको ३२ प्रतिशत र मालसामान ढुवानीको ५५ प्रतिशत सञ्चालन भइरहेको छ । यसले बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्र मात्र नभई समग्र आर्थिक एकीकरण र विकासका लागि रेल पूर्वाधारको महत्व स्पष्ट रूपमा देखाउँछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij