नेपालगञ्ज : नेपाल–भारतबीच पर्यटन क्षेत्रको सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यले संयुक्त मञ्चका रूपमा ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुने भएको छ।
नेपालगञ्जमा तीन दिनसम्म चलेको क्रस बोर्डर टुरिजम कन्क्लेभ को निष्कर्षस्वरूप दुवै देशको पर्यटन प्रवर्द्धनका लागि काउन्सिल गठन गर्ने सहमति भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो।
“अझै केही महत्वपूर्ण विषयमा छलफल र संवाद हुन बाँकी छ, त्यसपछि औपचारिक रूपमा काउन्सिल गठनको घोषणा गरिनेछ,” सिग्देलले भन्नुभयो। उहाँका अनुसार काउन्सिल गठन प्रक्रियामा तीनदेखि छ महिनासम्म लाग्ने अनुमान गरिएको छ।
क्रस बोर्डर पर्यटनलाई सहज बनाउन अनलाइनमार्फत आवेदन दिने र अनुमति प्राप्त गर्ने प्रणाली लागू गर्न दुवै देशका सरकारसँग आग्रह गरिएको सिग्देलले जानकारी दिनुभयो। यसले सीमा क्षेत्रमा पर्यटक आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कन्क्लेभमा हालै स्तरोन्नति सम्पन्न भएको नेपालगञ्ज विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्दै पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन गर्न नेपाल र भारत दुवै देशका नागरिकले आ–आफ्ना सरकारसँग पहल गर्ने निर्णय भएको छ। साथै नेपालगञ्जलाई ‘डेस्टिनेसन वेडिङ’ का रूपमा विकास गर्न सम्बन्धित निकायसँग पैरवी गर्ने विषयमा समेत जोड दिइएको छ।
नेपाल पर्यटन बोर्डको आयोजनामा नाट्टा बाँके च्याप्टरको संयोजनमा सम्पन्न कन्क्लेभमा पहिलो दिन विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गरिएको थियो भने अन्तिम दिन ग्रामीण पर्यटन प्रवर्द्धनका रूपमा होमस्टे (घरबास) अवलोकन तथा बाँके राष्ट्रिय निकुञ्जको सफारी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी तथा टुर अपरेटरबीच बिजनेस टु बिजनेस (B2B) छलफलसमेत भएको थियो।
यसैबीच नेपाल–भारतका पर्यटन व्यवसायीबीच संयुक्त बैठक पनि सम्पन्न भएको छ। बैठकले जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको आवागमनलाई सहज बनाउन नाट्टा बाँके च्याप्टरको सहजीकरणमा सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीको समन्वयमा संयुक्त बैठक आयोजना गरी पर्यटकमैत्री वातावरण निर्माण गर्न पहल गर्ने निर्णय गरेको सिग्देलले जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij