Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रत्ननगर महोत्सवको तयारी तीब्र

रत्ननगर महोत्सवको तयारी तीब्र

रत्ननगर :  पूर्वी चितवन स्थित रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सवको तयारी तीब्र पारिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट महोत्सव सुरु हुँदैछ ।महोत्सवको आन्तरिक तथा स्टल निर्माणको कामलाई तीब्र पारिएको संघका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए । यो महोत्सवको १३औँ संस्करण हो । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव जिल्लाकै गौरव र गरिमामय प्रस्तुतिको रुपमा हरेक दुई÷दुई वर्षमा आयोजना हुँदै आएको छ । महोत्सवमा जिल्लाको आर्थिक विकासका लागि स्थानीय उत्पादनलाई जोड दिँदै आएको संघका अध्यक्ष गिरीले बताए ।

महोत्सवले स्थानीय कला–संस्कृति तथा परम्परागत खानाको प्रवद्र्धन तथा कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष गिरी संयोजक रहेको मूल व्यवस्थापन समिति र ३७ वटा उपसमिति बनाइएको छ ।

महोत्सवमा ४५० वटा स्टलहरु रहने छन् । जेनजी आन्दोलनका कारण सुस्ताएको आर्थिक क्षेत्रलाई महोत्सवले चलायमान गराउने संघका अध्यक्ष गिरीले बताए । ‘आर्थिक मन्दी र त्यसलगत्तै भएको जेनजी आन्दोलनका कारण जिल्लाको आर्थिक क्षेत्र तहसनहस रहेको छ’, उनले भने, ‘रत्ननगरमा हुने महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई पुनर्जीवित गर्ने छ ।’ अध्यक्ष गिरीले महोत्सवले समग्र जिल्लाको आर्थिक विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवमा कृषि परिसर, अटो परिसर, महिला हस्तकला परिसर तथा व्यापारिक स्टलहरु रहने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक निराजन खनालले बताए । महोत्सवलाई भव्य बनाउन सुझबुझका साथ तयारी तीब्र पारिएको उनले बताए । स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि तथा मल, बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ ।

यस पटकको महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिने तयारी गरिएको छ । महोत्सवले जेनजी बिद्रोहका कारण सिथिल बनेको सौराहाको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए । महोत्सवअन्तर्गत परम्परागत खानाको प्रवद्र्धनका लागि फुड फेस्टिबल समेत आयोजना गरिने छ ।

फूड फेस्टिबल सौराहाचोक र टाँडीचोकको बीचमा रहेको रत्ननगर बसपार्कमा पौष २९ गतेदेखि माघ ३ गते सम्म संघका पूर्वअध्यक्ष तथा फेस्टिबलका संयोजक ज्ञानबहादुर विसुरालले बताए । टिकौलीमा महोत्सव सञ्चालन हुँदा टाँडी बजारमा चहलपहल कम हुने भएकाले बजारको प्रर्वद्धनका लागि फुड फेस्टिबल आयोजना गरिएको हो । फेस्टिबलमा स्थानीय तथा परम्परागत खानाका परिकारहरु पस्किने संयोजक विसुरालले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij