Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ :  तनहुँको देवघाट गाउँपालिका-५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ।उक्त पुल जीर्ण भइसकेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजनको पत्राचार पछि जिल्ला प्रशासन कार्यालयले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिलाई पत्र लेख्दै उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जानकारी गराएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ४४ वर्ष अघि निर्माण भएको उक्त पुल जीर्ण भइसकेकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको हो।

तत्कालीन समयमा मानिस मात्र आवतजावत गर्ने गरी डिजाइन गरिएको भन्दै पुल विभागले अत्यधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन दुई पाङ्ग्रे सवारी आवागमनमा रोक लगाउन प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।

“जीर्ण पुलको प्रत्येक वर्ष मर्मत गरिँदै आइएको छ। कतिपय अवस्थामा एकैपटकमा चार–पाँच सय भन्दा बढिले पुल तर्छन्। एकै पटकमा सयौँ जनाले पुल तर्ने गरेकाले पनि दुर्घटनाको जोखिम थप बढेको छ”, देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले भने।

देवघाट–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउनजान सबैभन्दा छोटो दूरीका रूपमा सोही पुल प्रयोग गर्दै आएका छन्। उनका अनुसार सोही पुलबाट दैनिक सयौँ स्थानीयले मोटरसाइकल पनि वारपार गर्दै आएका छन् भने हरेक वर्षको साउनमा हुने बोलबम मेला, बालाचर्तुदशी, माघे सङ्क्रान्ति मेला, औँसी, एकादशी, सूर्य ग्रहण, चन्द्र ग्रहणलगायत धार्मिक पर्व तथा मेलाहरूमा दैनिक दशौँ हजारले उक्त पुलबाट आवतजावत गर्छन्।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल बर्सेनि मर्मत सम्भार गरिँदै आइएको बताउँदै पुरानो र जीर्ण भइसकेकाले मर्मत गरे पनि जोखिम कायम रहेको बताए।

उनले वैकल्पिक रूपमा उक्त पुलको आसपासमा पक्की पुल निर्माण गर्नुपर्नेमा जोड दिए। पक्की पुल बनाउन गाउँपालिकाको स्रोतले सम्भव नरहेकाले भन्दै उनले सङ्घ र प्रदेश सरकारलाई अनुरोध गरिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij