Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कतारका लागि उपहार हात्ती खगेन्द्रप्रसाद र रूद्रकलीको चितवनबाट औपचारिक बिदाइ

कतारका लागि उपहार हात्ती खगेन्द्रप्रसाद र रूद्रकलीको चितवनबाट औपचारिक बिदाइ

चितवन : नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरेका खगेन्द्रप्रसाद र रूद्रकली नामका दुई हात्तीलाई आज चितवनबाट औपचारिक रूपमा बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई एक विशेष समारोहकाबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार दुवै हात्तीलाई चितवनबाट ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइनेछ । त्यहाँबाट आगामी पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटमार्फत सिधै कतार पठाइने तयारी गरिएको छ । सोही दिन बिहान भैरहवामै नेपाल सरकारले कतार सरकारलाई हात्ती औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

हात्तीको स्वास्थ्य, ढुवानी र हावापानी अनुकूलतालाई मध्यनजर गर्दै भैरहवाबाटै हस्तान्तरण गर्ने व्यवस्था गरिएको जनाइएको छ । नेपालले यसअघि विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती उपहारस्वरूप दिने यो पहिलो पटक हो । विभागका सूचना अधिकारी तथा वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार हात्ती कतार पठाउने सम्पूर्ण प्रक्रिया लगभग पूरा भइसकेको छ । उपहारस्वरूप पठाउन लागिएका खगेन्द्रप्रसाद नामका भाले हात्ती ६ वर्षका र रूद्रकली नामकी पोथी हात्ती ७ वर्षकी छन् । दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा जन्मिएर त्यहीँ हुर्काइएका हुन् ।

विसं २०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने घोषणा गरेको थियो । त्यसअनुसार साइटिसलगायत आवश्यक प्रक्रिया पूरा गरी २०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट हात्ती उपहार दिने निर्णय गरिएको थियो । कतारमा हात्तीको स्याहार–सम्भारका लागि नेपालबाट एक जना भेटनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाइने जनाइएको छ । उनीहरूले त्यहाँ हात्ती हुर्काउने र व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरी स्वदेश फर्किनेछन् ।

यसअघि नै नेपालबाट प्राविधिक टोली कतार पुगेर हात्तीको बसोबास, आहार व्यवस्था र हावापानी अनुकूलनका विषयमा स्थलगत अध्ययन गरिसकेको डा. पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij