चितवन : भरतपुर महानगरपालिका–१० स्थित प्रदर्शनी केन्द्रमा चौथो स्वदेशी जुत्ता–चप्पल मेला सुरू भएको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको हो। मेलाको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै प्रजिअ अर्यालले स्वदेशी उत्पादनको प्रयोग र बजार विस्तारले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने बताए। उनले यस्ता मेलाहरूले उद्योगी–व्यवसायीलाई उत्साह थप्ने र अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोग पुग्ने उल्लेख गरे।
चितवन उद्योग संघको सहकार्यमा नेपाली जुत्ता उत्पादक कम्पनीहरूले मेलाको आयोजना गरेका हुन्। नेपाली जुत्ता घरका पूर्वअध्यक्ष होमनाथ उपाध्यायका अनुसार २०७९ सालदेखि हालसम्म तीनवटा स्वदेशी जुत्ता–चप्पल मेला सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने हाल सञ्चालनमा आएको मेला चौथो संस्करण हो।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले मेलाबाट करिब २ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए। उनका अनुसार मेलामा सस्तो मूल्यमा बलिया, टिकाउ र गुणस्तरीय स्वदेशी जुत्ता–चप्पलहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
कार्यक्रममा चेम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराईले स्वदेशी तथा गुणस्तरीय उत्पादनको बजार विस्तार आवश्यक रहेको बताए। उनले पछिल्लो समय नेपाली जुत्ता–चप्पलको माग देशभित्र मात्रै नभई विदेशमा समेत बढ्दै गएको र निर्यातसमेत हुन थालेको जानकारी दिए।
मेलामा ३० भन्दा बढी स्टलहरू रहेका छन्। तीन हजार रुपैयाँ बराबरको जुत्ता–चप्पल खरिद गर्दा ‘हात खाली नजाने’ कुपनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। मेला पौष २५ गतेसम्म सञ्चालन हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij