भरतपुर : भरतपुर महानगरपालिका–१, शहीदचोकमा प्रधान कार्यालय रहेको नारायणगढको २२ औं वार्षिक साधारण सभा शनिबार संस्थाको प्राङ्गणमा नारायणगढमा सञ्चालक समितिबाट पेश गरिएका विषयहरूमा छलफल तथा निर्णय गर्दै सम्पन्न भएको छ।

संस्थाकी सेयर सदस्य समेत रहेकी संविधान सभा सदस्य माननीय गीता वाग्लेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न सभामा सहकारीका सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाध्यक्ष चुकेले संस्थाको समग्र वित्तीय अवस्थाबारे स्पष्ट गर्दै पारदर्शिता, उत्तरदायित्व र सदस्य हितलाई प्राथमिकतामा राख्दै संस्था अगाडि बढिरहेको बताए।
प्रमुख अतिथि माननीय गीता वाग्लेले सहकारी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौती तथा ती समाधानका उपायबारे धारणा राख्दै हंस बहुउद्देश्यीय सहकारी संस्था व्यवस्थापन, अनुशासन र सदस्य प्रतिको जवाफदेहिताका हिसाबले राम्रो अवस्थामा रहेको उल्लेख गरिन्।

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौड्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे। यस्तै, सञ्चालक समितिका सचिव शारदा शर्मा पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, सेवा विस्तार तथा भावी योजनाबारे जानकारी गराइन्। कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्यय, सम्पत्ति तथा दायित्वको अवस्था सभासमक्ष स्पष्ट पारे।
सञ्चालक समिति सदस्य प्रा.डा. होमनाथ सापकोटाले कर्मचारी व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि र सेवाको गुणस्तर सुधारका विषयमा मन्तव्य राखे। उपाध्यक्ष बाबुराम अधिकारीले सहकारीको दीगो विकासका लागि सञ्चालक समिति, कर्मचारी र सदस्यबीचको सहकार्य आवश्यक रहेको बताए।
यस्तै, निर्वाचन समितिका संयोजक शिव प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिमा रिक्त एक सदस्य पदमा हरि लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी गराए। निर्वाचन समितिका सदस्यहरू मञ्जु भट्ट पाण्डे र गोबिन्द सुबेदी पनि सभामा उपस्थित थिए।
सभामा सञ्चालक समिति सदस्यहरू ध्रुवकुमार ओझा, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य बराल तथा लेखा सुपरिवेक्षण समिति सदस्य कृष्णहरि तिमिल्सिना लगायत सम्पूर्ण समिति तथा उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले हाल संस्थामा ५,४६५ जना सेयर सदस्य तथा ४७७ जना ऋणी सदस्य, सेयर पुँजी रू ९ करोड ७९ लाख, बचत निक्षेप रू ६३ करोड ७४ लाख, ऋण लगानी रू ६६ करोड ८८ लाख तथा कुल सम्पत्ति/वासलात रू ८८ करोड ४३ लाख पुगेको जानकारी दिए। यस अघी टाँडी , विजयनगर र जीतपुर सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुको इकाई बैठक मङ्सिर २५ गते गरिएको समेत उनले जानकारी गराए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij