भरतपुर : नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १६औं वार्षिकोत्सवको अवसरमा शनिबार खुला रक्तदान, सदस्य सम्मान तथा सामाजिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। 
संस्थाको प्राङ्गण शहीदचोक, नारायणगढमा आयोजित कार्यक्रम बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री विनु रायमाझी पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै सभाध्यक्ष एवं संस्थाका अध्यक्ष चुकेले सहकारी बचत–ऋण कारोबारमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, रक्तदानजस्ता सामाजिक कार्यमार्फत समुदायप्रति उत्तरदायी भूमिकामा क्रियाशील रहँदै आएको बताए।

उनले सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता र सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि मन्त्री पौडेलले अव्यवस्थित सहकारी तथा वित्तीय गतिविधिप्रति सदस्य र समुदाय सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै उत्पादनमुखी तथा कृषि कार्यक्रमलाई प्राथमिकता दिने सहकारीलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताइन्।


विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. चितवनका सह–सचिव विष्णु प्रसाद वास्तोलाले सहकारीहरूबीचको सहकार्य र पारदर्शिताले मात्र विश्वास अभिवृद्धि हुने धारणा राखे। चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का सञ्चालक रामजी पौडेलले सहकारी आन्दोलनलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। सहकारी तथा रोजगार प्रवर्द्धन शाखाकी शाखा अधिकृत रोजी के.सी.ले सहकारीमार्फत स्थानीयस्तरमै रोजगारी सिर्जना र सामाजिक सेवाको ठूलो सम्भावना रहेको उल्लेख गरिन्।

लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्द प्रसाद पौडेलले संस्थाको वित्तीय अनुशासन र उत्तरदायित्वका विषयमा मन्तव्य राखे। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, भरतपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष लेखराज पन्त (हरि), होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सल्लाहकार रामप्रसाद सुबेदी, नगर प्रहरी प्रमुख कृष्णहरि ढकाललगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव शारदा शर्मा पौडेलले गरेकी थिइन्। सो अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए। सदस्य सम्मान अन्तर्गत शैक्षिक सम्मानतर्फ १ जना, बचत कारोबारतर्फ १३ जना, ऋण कारोबारतर्फ ९ जना तथा ज्येष्ठ सदस्य सम्मानतर्फ ६ जनालाई सम्मान गरिएको थियो।

साथै वर्षको उत्कृष्ट कर्मचारीका रूपमा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटालाई सम्मान गरिएको थियो। त्यसैगरी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श गृह नेपालमा आश्रित महिला तथा बालबालिकाका लागि भोजन सेवामा सहयोगस्वरूप १५ हजार रुपैयाँ आदर्श गृह नेपालकी अध्यक्ष मीना खरेललाई हस्तान्तरण गरिएको जानकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले दिए। कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, शेयर सदस्य तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij