चितवन : भरतपुर महानगरपालिकाको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको भुक्तानी सहजीकरणका लागि काठमाडौँ पुगेको छ। टोलीमा प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल रहेका छन्।
महानगर प्रमुख दाहालका अनुसार टोलीले आज प्रधानमन्त्री, अर्थ मन्त्री, युवा तथा खेलकुद मन्त्री, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवसँग भेट गरी रंगशालाको रकम भुक्तानीमा सहजीकरणका लागि छलफल गर्नेछ। उनले भनिन्, “महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो छिटो भुक्तानी गर्न आवश्यक छ।”
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको र बीचमै छाडेको रंगशालाको भुक्तानीमा कानुनी चुनौती आइरहेको छ। सङ्घीय सरकारले रु १५ करोड बजेट विनियोजन गरेको भए पनि सार्वजनिक खरिद ऐन अनुसार मात्र खर्च गर्न मिल्ने भएकाले फाउण्डेशनले रकम पाउन सकेको छैन।
उपप्रमुख अधिकारीले फाउण्डेशनलाई भुक्तानी दिन चाहिएको तर ऐन कानुनका कारण असहज भएको बताए भने प्रमुख प्रशासकीय अधिकृत पौडेलले सरकारी बजेट सिर्जित सम्पत्ति खरिदको लागि छुट्याइएको र त्यसै अनुसार खर्च गर्न मिल्ने बताए।
महानगरपालिकाको आग्रहमा फाउण्डेशनले निर्माण अघि बढाएको र नसकेपछि जिम्मेवारी हस्तान्तरण गरेको थियो। विसं २०८० कात्तिक २१ मा भरतपुर महानगर र बाग्मती प्रदेश सरकारले सहमति गरी निर्माण अघि बढाउने निर्णय गरेको थियो। हालसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने रु १८ करोड ४३ लाख उधारो रहेको जनाइएको छ।
फाउण्डेशनले विसं २०७५ माघ १६ मा रंगशाला निर्माण घोषणा गरेको थियो। सम्झौताअनुसार महानगरले जग्गा उपलब्ध गराउने र निर्माण खर्च फाउण्डेशनले विभिन्न स्रोतबाट जुटाउने व्यवस्था रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij