बागलुङ (गलकोट) : बागलुङमा ४२ लाख लगानीमा नयाँ व्यवसायिक पहलको रूपमा ‘बेम्बो क्याफे एन्ड किचन’ सञ्चालनमा आएको छ। युवा पुस्तालाई लक्षित गर्दै बागलुङ नगरपालिका–९ का शेखर खड्का र सुगम खड्काले यस क्याफे स्थापना गरेका हुन्।
बागलुङ नगरपालिका–२ मा रहेको क्याफेको औपचारिक शुभारम्भ उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष राजन शाक्यले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष शाक्यले युवाहरूलाई अवसर आफ्नै वरपर खोज्न आग्रह गर्दै, विदेशमा रोजगारीको खोजी गर्नुको सट्टा स्थानीय व्यवसायिक क्षेत्रमा लगानी गर्नु उत्तम हुने बताए। उनले परम्परागत शैलीका व्यवसायसँगै नयाँ शैलीका व्यावसायिक पहलले बजारमा फरक ल्याउन सक्ने पनि उल्लेख गर्नुभयो। साथै, आयातको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
क्याफेमा कफी, खाना र म्युजिकको संयोजनमार्फत आगन्तुकलाई मनोरञ्जन र स्वादको अनुभव दिइनेछ। सञ्चालक शेखर खड्काका अनुसार, बागलुङ बजारमा फरक परिकार र स्वाद प्रस्तुत गर्दै युवा वर्गलाई रोजगार दिने उद्देश्यले क्याफे सञ्चालन गरिएको हो। हाल करिब १० जनालाई रोजगार अवसर प्रदान गरिएको छ।
पछिल्ला वर्षमा बागलुङ बजारमा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा उल्लेखनीय वृद्धि भएको छ। बेम्बो क्याफे एन्ड किचनले अर्गानिक परिकारलाई प्राथमिकता दिँदै, गुणस्तरीय सेवा र नविनतम व्यावसायिक शैलीको संयोजनमार्फत स्थानीय र पर्यटक दुवैको आकर्षणको केन्द्र बन्ने लक्ष्य राखेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij