Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

नारायणी नदीको कटान रोक्न ६० किलोमिटर तटबन्ध आवश्यक

नारायणी नदीको कटान रोक्न ६० किलोमिटर तटबन्ध आवश्यक

चितवन : नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि २२ अर्ब रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो । समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार २२ अर्ब रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब छ अर्ब रुपियाँ आवश्यक रहेको कार्यालय प्रमुख डा. नारायण सुवेदीले बताउनुभयो ।तटबन्ध निर्माणका लागि ठुला ढुङ्गा आवश्यक पर्ने भए पनि पर्याप्त परिमाणमा उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । देशभर नदी नियन्त्रणका आयोजनामा ठूला ढुङ्गाको माग बढेकाले आवश्यक परिमाण जुटाउन कठिन भएको उहाँको भनाइ छ । “यसका लागि सरकारले ठूला ढुङ्गा उत्खनन गर्न सकिने क्षेत्रलाई खानीका रूपमा घोषणा गरेर काम अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।

यस वर्षको बाढीले नारायणगढ बजारमाथिको गौरेश्वर मन्दिर क्षेत्रदेखि त्रिवेणीधाम र सुस्तासम्मका विभिन्न स्थानमा कटान गरेको छ । नदी नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माण गर्न नसके आगामी वर्ष थप क्षति हुन सक्ने जोखिम रहेको आयोजना कार्यालयले जनाएको छ ।तटबन्ध निर्माणका लागि बजेट व्यवस्थापन गर्न राजनीतिक तथा प्रशासनिक तहमा पहलसमेत सुरु भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं चितवन क्षेत्र नं। ३ की सांसद सोविता गौतमसहित विज्ञहरूसँग भएको छलफलमा बहुवर्षीय योजनाअन्तर्गत बजेट व्यवस्था गरेर निर्माण कार्य अघि बढाउने विषयमा छलफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति मिनि माधव खनालले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका प्रतिनिधि, विज्ञ, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख तथा अन्य जनप्रतिनिधिसँग छलफल गरेपछि सिँचाइ मन्त्रालयमार्फत बजेट निकासाका लागि पहल गरिएको बताउनुभयो ।“यसै वर्ष निर्माणको काम सुरु गर्न नसके थप क्षति हुन सक्छ । त्यसैले बजेट व्यवस्थापनका लागि पहल गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

नवलपरासीका सांसद राजन गौतमले नारायणी नदीको बाढीबाट चितवनको तुलनामा नवलपरासीमा बढी क्षति हुने जोखिम देखिएको बताउनुभयो । यस वर्षको बाढीले जोखिम थप बढाएकाले अतिरिक्त बजेट व्यवस्थापन गरेर भए पनि तटबन्ध निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । त्यसका लागि आफूले पहल गरिरहेको उहाँले बताउनुभयो ।भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पश्चिम चितवनलाई बाढी र कटानबाट जोगाउन तटबन्ध आवश्यक रहेको बताउनुभयो । चालु आर्थिक वर्षमै बजेट निकासा गर्न महानगरपालिकाका तर्फबाट सङ्घीय सरकारसँग पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस पटकको बाढीबाट मानवीय क्षति नभए पनि जोखिम उच्च रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेदेखि नै काम सुरु भएन भने पछि झन् समस्या आउँछ ।”बागमती प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री विजय सुवेदीले तटबन्ध निर्माणसँगै नदीको प्राकृतिक बहावमा अवरोध पुर्‍याउने नदीबीचका साना जङ्गल तथा अन्य अवरोधको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । नदीको बहाव सहज बनाउन सके कटानको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको सुझाव छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले यस वर्षको बाढीले नारायणगढ बजारसमेत जोखिममा परेको बताउनुभयो । नदी कटान नियन्त्रणका लागि तत्काल तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले चितवन क्षेत्र नं. ३ का सांसद तथा रास्वपा सभापति रवि लामिछानेलाई भेटेर अवस्थाबारे जानकारी गराइएको बताउनुभयो । त्यसपछि लामिछानेले तटबन्ध निर्माणका विषयमा छिट्टै ठोस निर्णय हुने जानकारी दिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij