नवलपुर : नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एकैदिन नौवटा मृग मृत अवस्थामा फेला परेका छन् । मरेका मृगमध्ये एकवटा बच्चा समेत रहेको जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले किसानले तोरीबारीमा छरेको विषादी नै मृत्युको कारण हुनसक्ने देखिएको छ । मृगको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएकाले विषादीयुक्त तोरी खाँदा मृत्यु भएको अनुमान गरिएको छ ।
घटनापछि सबै मृगको पोस्टमार्टम गरिएको छ । विषादी परीक्षण प्रयोगशाला चितवनमा उपलब्ध नभएकाले नमूना काठमाडौँस्थित विधि विज्ञान प्रयोगशाला पठाइएको अधिकारीले बताए । चार–पाँच दिनपछि रिपोर्ट आएपछि मात्र कुन प्रकारको विषादीले शरीरका कुन अङ्गमा असर पारेको हो भन्ने पुष्टि हुने निकुञ्जले जनाएको छ ।
मातृभूमि सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीले पनि विषादीकै कारण मृग मरेको आशंका गरिएको बताए । पछिल्लो समय किसानहरूले तरकारी तथा तोरीबारीमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने गरेको, र किसानहरुलाई विषादी प्रयोगबारे सरकारी निकायले पर्याप्त सचेतना नपहुँचाएको उनको गुनासो छ ।
निकुञ्जबाट जंगली जनावर रोक्न लगाइएको तार भत्किएको स्थान हुँदै मृग तथा गैँडा बारीमा प्रवेश गर्ने गरेको र बाघको जोखिमका कारण मृगहरू गैँडाको साथमा हिँड्ने गरेको पनि अधिकारीले बताए ।
यसअघि पनि तीन वर्षअघि यही क्षेत्रमा १५ मृग एकैपटक मृत फेला परेका थिए । वर्तमान घटनापछि निकुञ्ज तथा स्थानीय निकायले विषादी प्रयोग, वन्यजन्तु सुरक्षासम्बन्धी निगरानी र नियन्त्रण कार्य थप कडा पार्ने तयारी गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij