Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भरतपुर–२२ को कसरा र सिक्किम युनाइटेड टुरिजमबीच भगिनी सम्बन्ध स्थापना

भरतपुर–२२ को कसरा र सिक्किम युनाइटेड टुरिजमबीच भगिनी सम्बन्ध स्थापना

चितवन : चितवनको भरतपुर–२२ मा रहेको कसरा पर्यटन व्यवसायी समिति र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनबीच भगिनी सम्बन्ध स्थापना भएको छ।

पटिहानीको होटल सोल्टीमा आयोजित कार्यक्रममा कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनका अध्यक्ष गणेश शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध स्थापित गरे।

उपाध्यक्ष पाण्डेका अनुसार, भरतपुरको प्रमुख पर्यटकीय क्षेत्र पटिहानी कसरालाई अझ विकसित गर्न र नेपाली भाषी बहुल क्षेत्र सिक्किमसँग दिगो सम्बन्ध कायम गर्न यो पहल गरिएको हो। सम्झौतामा दुवैतर्फको पर्यटन आदानप्रदान, संस्कृति आदानप्रदान, दिगो पर्यटन विकास, अर्गानिक कृषि अभ्यास आदानप्रदान, पर्यावरण संरक्षण, कार्यशाला सञ्चालन लगायतका विषय समेटिएका छन्।

सिक्किमले ग्रामीण र दिगो पर्यटनमा गरेको अभ्यासको अनुभव पटिहानी कसरा क्षेत्रमा आदिवासी थारु समुदायलाई मुख्य प्राथमिकता दिँदै कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

अध्यक्ष शिवाकोटीका अनुसार, पटिहानीको वाइल्डलाइफ, थारु जातिको मौलिक कला, कृषि, होटल तथा होमस्टे, चितवन राष्ट्रिय निकुञ्जका विविध पक्षहरू सिक्किममा प्रचार-प्रसार गरिनेछ। सिक्किमका टुर अपरेटरहरूले पटिहानी भ्रमणका लागि विभिन्न पर्यटक प्याकेज तयार पार्न सहयोग गर्नेछन्।

सिक्किम पर्यटन विभागकी अधिकृत गीता गुरुङले सिक्किमका ६ जिल्लामा ग्रामिण पर्यटनमा प्राथमिकता दिइएको जानकारी दिइन्। सिक्किममा हाल १७ सय ८ वटा होमस्टे सञ्चालनमा रहेको बताइन्।

भरतपुर–२२ का वडाध्यक्ष विष्णुप्रसाद महतोले भगिनी सम्बन्धले दुवै क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, सिक्किम र नेपालबीच भाषा, कला, संस्कृति, इतिहास र भूगोलमा समानता भएकाले पर्यटन क्षेत्रमा सहयोग बढाउन सकिनेछ।

सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसनका सचिव नेविद गौतमले ५–१० दिनसम्मको पर्यटक भ्रमण प्याकेज बनाउन सकिने जानकारी दिए। युवाहरूलाई पर्यटन व्यवसायमा सक्रिय गराउन दुवै पक्ष मिलेर तालिम, सिप र क्षमतामूलक कार्यक्रम सञ्चालन गर्न उत्साहित रहेको पनि उनले बताए।

पत्रकार अम्बर गुरुङले पहिलोपटक पटिहानी आउँदा वाइल्डलाइफ टुरिजम र थारु मौलिक कला संस्कृतिबाट सकारात्मक अनुभूति प्राप्त भएको अनुभव सुनाए।

यस भगिनी सम्बन्धले सिक्किम र कसरा क्षेत्रका पर्यटकलाई पारस्परिक पहुँच बढाउने र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij