Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अङ्कुरम् एकेडेमीमा ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु

अङ्कुरम् एकेडेमीमा ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु

चितवन : कक्षाकोठाको सिकाइलाई डिजिटल प्रविधिमार्फत अझ प्रभावकारी, सहभागीमूलक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ बिहीबारदेखि सुरु भएको छ। भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा सुरु गरिएको यो तालिमले शिक्षकलाई आधुनिक उपकरण तथा प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

कार्यक्रममार्फत शिक्षकमाझ कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, आधुनिक शिक्षण प्रविधि, आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता भविष्यका आवश्यक सीप विकासमा सहयोग पुग्ने आयोजकले बताएका छन्।

प्राचार्य सुमन पौडेलका अनुसार तालिमले शिक्षकलाई डिजिटल शिक्षण विधिमा सुधार ल्याउन, एआईमा आधारित टुलहरूको प्रभावकारी प्रयोग सिकाउन, काठमाडौँ विश्वविद्यालयको प्रमाणिक शिक्षण अनुभव प्राप्त गर्न र कक्षामा शिक्षक–विद्यार्थी अन्तरक्रिया अझ सक्रिय बनाउने अवसर प्रदान गर्नेछ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन शेषकान्त पङ्गेनी र स्टिम एजुकेसन विभागका लेक्चरर प्रतितराज गिरीले तालिम प्रदान गरिरहेका छन्। अङ्कुरम् एकेडेमीसहित चितवन र नवलपुरका विभिन्न विद्यालयबाट ६७ जना प्रिन्सिपल र शिक्षक सहभागी छन्।

तालिममा डिजिटल पेडागोजीको मूल्याङ्कन, राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी, कोल्याबोरेटिभ क्लाउडका गुगल डक्स, गुगल स्लाइड, गुगल फर्मको प्रयोग, साथै च्याटजीपीटी, जेमिनी, डिपसिक र कोपाइलटजस्ता एआई टुलहरूको विस्तृत प्रयोगबारे सिकाइ दिइँदैछ। साथै ‘एआई फर क्रिएसन’ अन्तर्गत म्याजिक स्कूल एआईको लेसन प्लान जेनरेटर र रुब्रिक जेनरेटरको प्रभावकारी प्रयोगमा प्रशिक्षण प्रदान भइरहेको छ।

विद्यालय सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखे। आवासीय निर्देशक नईम चौधरीले धन्यवाद व्यक्त गरेका थिए। तालिमको पहिलो र दोस्रो दिनको सत्र अङ्कुरम् एकेडेमीको बहुउद्देश्यीय हलमा र तेस्रो दिनको सत्र सौराहास्थित ल्याण्डमार्क फरेष्ट पार्कमा आवासीय सुविधा सहित सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij