चितवन : चितवनको भरतपुर महानगरपालिका–१५, श्रीपुरका किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई विघा १० कठ्ठा क्षेत्रमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती गरेका छन्।
अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना र तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी रोपिएको हो।
उनी भन्छन्, “पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरियो। यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ।”
अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा ८०० रुपैयाँ र दाना प्रतिकिलो ५०० रुपैयाँमा बिक्री भएको जानकारी अधिकारीले दिएका छन्। यस वर्ष उनी एकल रूपमा खेतीमा संलग्न छन्।
दुई वर्षअघि चार जनाको समूह बनाएर गरिएको सूर्यमुखीखेतीले फूल फुल्दा क्षेत्र आकर्षक बनेको थियो। त्यतिबेला दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन र घुम्न आउनेको संख्या उल्लेख्य रहेको उनले बताए।
अधिकारीको दाबी छ कि बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउनेछ। फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ।
लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएका छन्। सूर्यमुखीखेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको छ।
अधिकारीले बताए, “श्रीपुर गाजर उत्पादनका लागि परिचित क्षेत्र हो। मैले प्राङ्गारिक रूपमा गाजर पनि लगाएको छु।” उनका अगुवाइमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले पनि विभिन्न बाली लगाउँदै आएका छन्।
करीब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij