चितवन : नारायणी नदीमा निर्माण हुन लागेको नयाँ पुलको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। करिब एक महिनाअगाडि सडक विभागको पुल महाशाखाले नक्सा स्वीकृत गरेपछि निर्माण कार्य अघि बढेको हो। अहिले निर्माणस्थलमा जमिनको भार क्षमता परीक्षणको काम तीव्र रूपमा भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो।
इन्जिनियर घिमिरेका अनुसार नक्सामा उल्लेख गरिएको भार धान्ने क्षमता जमिनले राख्छ कि राख्दैन भन्ने पुनः परीक्षण अनिवार्य हुने भएकाले अहिले त्यही प्रक्रिया सञ्चालनमा छ। “पुलको पिल्लर बस्ने स्थानको माटो परीक्षण पूरा भएपछि मात्र थप संरचनागत काम अघि बढाइन्छ,” उहाँले बताउनुभयो।
पुलको डिजाइन तयार गर्ने विदेशी विशेषज्ञसहितको टोलीले माटो परीक्षण रिपोर्ट तयार गर्न करिब २८ दिन लाग्ने जनाएको छ। पुल महाशाखाले कात्तिक १४ गते नक्सा पास गरेपछि नारायणी नदीतटमा मङ्सिर १ गतेबाट काम सुरु गरिएको हो। हाल नारायणगढतर्फबाट पिल्लर पर्ने स्थानसम्म पुग्ने पहुँच मार्ग निर्माण भइरहेको छ।
चार पिल्लर रहने ‘सिग्नेचर पुल’ निर्माण हुँदै गर्दा नारायणगढ–गैँडाकोट क्षेत्रको चहलपहल बढेको स्थानीयले बताएका छन्। आकर्षक डिजाइनका कारण यो पुल क्षेत्रीय पहिचानकै रूपमा स्थापित हुने अपेक्षा पनि गरिएको छ।
पुल निर्माणका लागि २०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको हो। चीनको एक विश्वविद्यालयका प्रोफेसरको नेतृत्वमा पुलको डिजाइन तयार गरिएको हो। पुल महाशाखा प्रमुख ललिजन खनालले फिल्डमा निर्माण कार्य चाँडो अघि बढाउन निर्देशन दिएको बताइएको छ।
इन्जिनियर अमृत वर्माका अनुसार पुलको कुल चौडाइ लट्ठासहित १४ मिटर रहनेछ। त्यसमध्ये फुटपाथसहित सवारीसाधन चल्न सक्ने भागको चौडाइ ११ मिटर तय गरिएको छ। ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने यो परियोजना तुँदी कन्स्ट्रक्सन प्रालिले मूल्य अभिवृद्धि कर (VAT) सहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँमा लिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij