म्याग्दी : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र मानिने धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार ध १ ख ३०८ नम्बरको बस मल्कवाङ पुगेपछि स्थानीयवासीले अबिर र माला लगाएर चालक श्याम मिजार र बसधनी जगत दगामी मगरलाई स्वागत गरेका छन् ।
धवलागिरि–५ मल्कवाङका वडाध्यक्ष अमर छन्त्यालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरू उपस्थित रहेर उक्त ऐतिहासिक क्षणमा खुसीयाली मनाइएको थियो ।
वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिए पनि अहिलेअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र चल्ने गरेकाले बस सेवा सञ्चालन पहिलोपटक भएको हो । गाउँपालिकाले बर्खामा अवरुद्ध हुने सडकका कठिन ठाउँमा ग्रेड मिलाएर घुम्ती सुधार गरेपछि बस चल्न सक्ने बनाइएको हो ।
सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि बस सञ्चालन भएपछि स्थानीयवासी अत्यन्त उत्साहित बनेका छन् । जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाउने भएपछि स्थानीयले राहत महसुस गरेको बताए । यसअघि बेनी–मल्कवाङ जिप भाडा प्रतिव्यक्ति रु १,००० तिर्नुपर्ने बाध्यता थियो भने बसको प्रतिव्यक्ति भाडादर रु ७५० कायम गरिएको वडाध्यक्षले जानकारी दिए ।
बेनीदेखि मल्कवाङको दूरी ४५ किमि रहेको छ । बस सेवा सञ्चालन भएपछि मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ र घण्टीवाङका तीन सयभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएको छ । म्याग्दी यातायात प्रालिले बेनीबाट बिहान ७:०० बजे र मल्कवाङबाट बिहान ८:०० बजे दैनिक १/१ गाडी छुट्ने व्यवस्था गरेको छ ।
यसअघि स्थानीयवासी पैदल यात्रा गरेर मराङबेँसी पुगेर मात्र बस चढ्ने गर्थे । मल्कवाङ र भेडिखाल्टालाई सडकमार्गमा जोड्न धवलागिरि गाउँपालिकाले यो आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेर विस्तारीकरण योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।
गण्डकी प्रदेश सरकारले पनि बिमलुरवाङ–मराङबेँसी–अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिको बहुवर्षीय योजना सञ्चालन गर्दै चालु वर्ष १ करोड विनियोजन गरेको छ । प्रदेशसभा सदस्य रेशम जुग्जालीले स्रोत सुनिश्चित गर्दै बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij