चितवन : देशभर चिसो बढेसँगै अण्डाको खपत स्वतः बढिरहेको छ। त्यसमाथि भारतीय सीमाक्षेत्रमा कडाइ भएपछि अवैध अण्डा प्रवेश रोकिएको र त्यसका कारण नेपाली अण्डाले बजारमा राम्रो मूल्य पाउन थालेको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ।
सङ्घले शुक्रबार बसेको बैठकमार्फत आजदेखि लागू हुनेगरी नयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जनाएको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ मूल्य किसानको वास्तविक उत्पादन लागतलाई आधार बनाएर तय गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार अण्डाको दर यसप्रकार छन्—
एक्सएल (अति ठूलो) अण्डा: प्रतिक्रेट (३० वटा) रु ५६०
ठूलो अण्डा: रु ५४५
मिडियम अण्डा: रु ५३०
सानो अण्डा: प्रतिपेटी रु ३२५०
अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यको तुलनामा प्रतिक्रेट रु ४० ले वृद्धि भएको हो। भारतमा चलिरहेको निर्वाचनका कारण सीमा नाकामा निगरानी कडा बनेपछि त्यहाँको अण्डा महँगिएको र अवैध रूपमा नेपाल भित्रिने मार्ग अवरुद्ध हुनाले नेपाली अण्डाले राम्रो मूल्य पाएको उनले बताए।
उनका अनुसार जाडो सुरु भएसँगै अण्डाको खपत स्वभाविक रूपमा बढ्दो क्रममा छ। “चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेका कारण समेत माग वृद्धि भएको छ,” पोखरेलले बताए।
गत साउनमा अण्डाको मूल्य प्रतिक्रेट रु ५६० पुगेको थियो, तर त्यसपछि दर क्रमशः घट्दै गएको थियो। अहिले फेरि मूल्य बढ्दै गएको र किसानको लागत उठ्न सक्ने अवस्था बनेको सङ्घले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij