Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

अलैँची प्रतिमन ९८ हजारसम्म, किसान उत्साहित

अलैँची प्रतिमन ९८ हजारसम्म, किसान उत्साहित

भोजपुर :  अलैँचीले राम्रो मूल्य पाउन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टका अनुसार गाउँमा अलैँची प्रतिमन (४० किलो) ९८ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ। केही किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन भण्डारण गरेर राखेका छन्।

चोलन्ती अलैँची उत्पादनको प्रमुख क्षेत्र मानिन्छ। यहाँका ८०–९० घरधुरी किसान व्यावसायिक खेतीमा छन्। अलैँची व्यावसायी महासङ्घका अध्यक्ष राजेश विष्टका अनुसार यो क्षेत्रमा उत्पादन गत वर्षभन्दा बढी छ। रोग–कीराको समस्या देखिए पनि मूल्य बढेपछि किसान आफ्नो खेती विस्तारमा सक्रिय छन्।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब ५९७ हेक्टरमा अलैँचीखेती हुन्छ। रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातको खेती हुने गरेको छ। चोलन्ती, दोभाने, कुदाकाउले, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत क्षेत्रमा अलैँची प्रमुख नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।

अलैँचीको मूल्य बढेपछि गाउँमा आर्थिक गतिविधि बढेको किसानको भनाइ छ, तर रोग–कीरा, मौसम र बजार उतारचढावजस्ता चुनौती भने यथावत रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij