Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

व्यास नगरपालिकाले फोहोर बिक्रीबाट ७ लाख आम्दानी

व्यास नगरपालिकाले फोहोर बिक्रीबाट ७ लाख आम्दानी

तनहुँ : व्यास नगरपालिकाले चालु आवको पहिलो चार महिनामा नकुहिने फोहोर बिक्रीबाट रु सात लाख आम्दानी गरेको छ। नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु वर्गीकरण गरी बिक्री सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहोर सङ्कलन गर्दै आएको छ। कुहिने फोहोरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ भने नकुहिने फोहोरलाई वर्गीकरण गरी ‘बेलिङ’ मेसिनबाट सानो आकारमा परिणत गरेर बिक्रीमा ल्याइएको छ।

अल्मुनियम, फलाम, टिन, प्लास्टिक बोतल, कपडा, कपी र किताबको बिक्री मूल्य निश्चित गरिएको छ। यसअघि वडा नं ३ मादी नदी किनारमा व्यवस्थापन हुँदै आएको नकुहिने फोहोर अब नगरपालिकाको कार्यालय परिसरबाटै व्यवस्थापन हुँदै आएको छ।

नगरपालिकाले फोहोर व्यवस्थापनमा दिगो उपायका रूपमा वडा नं १३ मा नयाँ जग्गा खरिद प्रक्रिया अघि बढाएको भए पनि स्थानीय विरोधका कारण हाल स्थगित गरिएको छ। व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार, फोहोर बिक्रीबाट नगरपालिकाले अब दिगो आम्दानी स्रोत सिर्जना गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij