काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। शनिबार (मंसिर ६) भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा बोल्दै उनले ‘जेनजीलाई सघाएन’ भन्दै एसपीलाई हटाइएको आरोप लगाए।
ओलीले प्रश्न उठाउँदै भने, “जेनजीलाई सघाएन भनेर एसपी तानियो, यो कस्तो तमासा हो ? त्यहाँ एयरपोर्ट बन्द गराउन जेनजी आएको पनि थिएन।” उनले प्रहरी ‘जेनजी बनेर’ काम गर्नुपर्ने बाध्यता आएको जस्तो व्यवहार सरकारले गरेको आरोप गरे।
उनका अनुसार सरकारले अब प्रहरीसमेत एमाले पक्षधर भएको錯 आरोप लगाउन थालेको छ। “अब उहाँहरूलाई पुलिस पनि एमाले लाग्न थाल्यो। छिट्टै अदालत, कर्मचारी र सेना पनि एमाले लाग्न थाल्छ,” ओलीले व्यंग्य गर्दै भने।
बाराको सिमरामा भएको झडप र स्थानीय प्रशासनसँग जेनजी समूहको छलफलपछि शुक्रबार (मंसिर ५) प्रहरी प्रधान कार्यालयले एसपी तामाङलाई हटाएर उनको स्थानमा एसपी नरेन्द्र कुँवरलाई खटाएको थियो।