Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कमला नदीको अधुरो पुल तीन महिनाभित्र सक्ने निर्माण कम्पनीको प्रतिबद्धता

कमला नदीको अधुरो पुल तीन महिनाभित्र सक्ने निर्माण कम्पनीको प्रतिबद्धता

सिरहा  : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत अनुगमनपछि धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्र पूरा गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको छ । हुलाकी राजमार्गअन्तर्गत २०६८ सालमै तीन वर्षमा बनिसक्नुपर्ने यो पुल १४ वर्ष बित्दा पनि अधुरो छ ।

मन्त्री घिसिङले डुङ्गा चढेर नदी पार गर्दै स्थानीयले वर्षौंदेखि भोग्दै आएका जोखिम र कष्टको प्रत्यक्ष अनुभव लिए । निरीक्षणपछि उनले सामाजिक सञ्जालमार्फत पुलको ढिलाइका कारण स्थानीय झेल्नुपरेको समस्याले मन भारी भएको बताए । आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे छलफल भएको र प्राविधिक प्रश्नमा सम्बन्धित निकाय जिम्मेवार रहने उल्लेख गरे ।

लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले तीन महिनाभित्र पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । पप्पु कन्स्ट्रक्सनले छाडेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो । ४६९ मिटर लम्बाइको पुलको ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

स्थलगत निरीक्षणमा मन्त्री घिसिङसँग युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सचिव, महानिर्देशक र अन्य अधिकारीहरूको सहभागिता थियो । कमला नदीको यो पुल मधेस प्रदेशको यातायात र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट