काठमाडौँ : पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा अघिल्लो बिहीबारसम्म पदाधिकारी र सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि महाधिवेशनको मिति तय गर्ने विषयमा सहमति जुटाउन भन्दै बैठक निरन्तर सारिँदै आएको हो।
कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिसभा चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा पार्टीभित्र द्वन्द्व बढेपछि समाधान खोज्न शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटिरहेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू मध्यमार्गी प्रस्तावमार्फत सहमति गराउने प्रयासमा रहेका छन्।
पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार नेताहरूलाई आज दिउँसोभित्र कुनै न कुनै सहमतिमूलक प्रस्ताव ल्याउन दबाब छ। महाधिवेशनको मिति सम्बन्धमा दुई भिन्न प्रस्ताव पेस भइसकेका छन्—महामन्त्री गगन थापाले पुस १६–१९ मा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० मा गर्ने प्रस्ताव पेस गरेका छन्। थापाको प्रस्तावलाई इतर समूह र यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरिरहेपछि विवाद चर्किएको हो।
दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी विकल्प निकाल्ने प्रयासमा डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायतका नेताहरू जुटिरहेका छन्। आज बस्ने बैठकबाट विवाद समाधानको सम्भावित मार्गचित्र आउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij