कञ्चनपुर : दोधारा–चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामग्री तथा औजार आयातमा भन्सार छुट उपलब्ध गराउन सिफारिस गरिएको छ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार छुटको स्वीकृति प्रदान गरी अर्थ मन्त्रालयमा कार्यान्वयनका लागि सिफारिस पठाइसकेको छ। सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक सामग्री र औजारको सूची बुझाइसकेपछि मन्त्रालयले छुटका लागि प्रक्रिया अघि बढाएको हो।
“ठेकेदार कम्पनीले भारतबाट ल्याउनुपर्ने औजार र सामग्रीको सूची बुझाएको थियो। सोही सूची स्वीकृत भइसकेको छ र कार्यान्वयनको चरणमा पुगेको छ,” गजुरेलले बताए।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको यो सुक्खा बन्दरगाह भारतमै चयन गरिएको निर्माण कम्पनीमार्फत निर्माणाधीन छ। कम्पनीले माटो सम्याउने, मजदुरका बसोबासका संरचना बनाउनेलगायत प्रारम्भिक काम सुरु गरिसकेको छ। औजार र सामग्री आयात भएपछि निर्माण कार्यले थप गति लिने बताइएको छ।
रु तीन अर्ब ८० करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनको ४२.३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माण हुँदैछ। सो क्षेत्रमा दुईवटा गोदाम, भन्सार जाँच चौकी, क्वारेन्टाइन, अध्यागमन, सुरक्षा भवनलगायत संरचना निर्माण गरिने छ।
महाकाली नदीमा बनेको चार लेनको पक्की पुलको पश्चिम किनारमा बन्न लागेको यो सुक्खा बन्दरगाह सम्पन्न भएपछि कञ्चनपुर सुदूरपश्चिमकै मुख्य व्यापारिक नाकाका रूपमा विकसित हुने अपेक्षा गरिएको छ। नयाँदिल्ली तथा उत्तराखण्डको औद्योगिक क्षेत्र रुद्रपुरसम्म सहज पहुँच हुने भएकाले यो पूर्वाधारले सुदूरपश्चिमको आर्थिक समृद्धिमामा महत्वपूर्ण योगदान पुर्याउने अनुमान गरिएको छ। यहाँबाट रुद्रपुर औद्योगिक क्षेत्रको दूरी करिब ९० किलोमिटर छ।
सरकारले विसं २०६४ मै यहाँ सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अघि सारेको थियो, जुन अब तीव्र गतिमा कार्यान्वयन हुँदैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij