Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत बत्ती जडानको काम सम्पन्न

‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत बत्ती जडानको काम सम्पन्न

चितवन  : भरतपुर महानगरमा १२६ किलोमिटरसम्म स्मार्ट बत्ती र हाइ मास्ट जडान गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा दोस्रो चरणको अभियानलाई महानगर प्रमुख रेनु दाहालले बिहीबार भरतपुर–१९, शारदानगरस्थित सौगात चोकबाट शुभारम्भ गरिन् ।

‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत पहिलो र दोस्रो चरणमा राजमार्ग र भित्री सडकमा ३ हजार ५ सयवटा सडक बत्ती जडानअन्तर्गत ७५ ठाउँमा मिनी मास्ट र ८ ठाउँमा हाइ मास्ट जडान गरेर बत्ती बाल्ने काम सम्पन्न गरिएको मेयर दाहालले बताइन् । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको बताउँदै उनले भनिन्, ‘पहिलेको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो बनाउँदै छौँ ।’

पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको थियो । दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिला सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिएको भन्दै प्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एसियाली मापदण्डअनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताइन् ।

सडकमा यात्रा गर्दा आमसर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारीसाधनको आवतजावतलाई सहज र सुरक्षित बनाई सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो सहर भरतपुर’ अभियान तीव्र पारिएको उनले बताइन् ।

भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती रहेको भन्दै यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मतसम्भार गर्ने बताए । ‘महानगरमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन्, विकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिएको छ’, उनले उनले भने ।

भरतपुरलाई सुरक्षित सहर बनाउने योजना अन्तर्गत भरतपुर महानगरपालिकाका मह¤वपूर्ण क्षेत्रका रुपमा रहेका ४१८ स्थानमा सिसिटिभी जडान गरिने उनले बताए ।

भरतपुर शिक्षाको, स्वास्थ्यको, कृषिको, झिलिमिली बत्तीको, पर्यटनको सहरका रुपमा विकास हुँदै बहुआयमिकरुपमा अघि बढिरहेको वरिष्ठ प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij