फुङलिङ : ताप्लेजुङमा आयोजित निशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन्। नेपाल नेत्रज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको शिविरमा १ हजार ६ सयभन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्।
क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार, तीमध्ये २ सय ६ जनाको मोतियाबिन्दुको शल्यक्रिया र ३ जनाको साधारण शल्यक्रिया गरिएको थियो।
विश्व प्रसिद्ध नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइत र उनका छोरा डाक्टर सागर रुइतले क्रमशः ७९ र १३० जनाको आँखाको शल्यक्रिया गरेका थिए। गुरुङका अनुसार, पिता–छोराले एकैदिनमा कुल १७० जनाको शल्यक्रिया सम्पन्न गरेका थिए।
कात्तिक २९ देखि सुरु भएको परीक्षण तथा उपचार शिविर मङ्गलबार सकिएको थियो। शिविर नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको मुख्य आयोजना तथा तिलगङ्गा आँखा अस्पताल, रुइत फाउण्डेसन, सेवा फाउण्डेसन र फुङलिङ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij