जुम्ला : जुम्लामा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला बिहीबार खोलिएको छ। गत असारमा खारेज भएपछि कार्यालयमा काम रोकिएपछि स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले विरोध स्वरूप कार्यालय तालाबन्दी गरेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यका अनुसार पछिल्लो समयमा सेवाग्राहीको गुनासो बढेसँगै राजनीतिक र जनप्रतिनिधिहरूको पहलमा कार्यालय खोलिएको हो। कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखि तालाबन्दी हुँदा काम प्रभावित भएको र सेवाग्राहीले समस्या भोगेको बताए।
तर नयाँ भवनमा ताला भने यथावत छ। आचार्यका अनुसार बृहत धौलीगाड खानेपानी आयोजना सञ्चालन नहुँदासम्म स्थायी कार्यालयको ताला नखोलिने व्यवस्था छ। स्थानीय सरोकारवालाले करोडौँ रुपैयाँको भवन भए पनि कार्यालय सरेपछि विरोध गरिरहेका छन्।
फिल्ड कार्यालयको लेखा प्रणाली हाल सङ्घीय खानेपानी कार्यालय सुर्खेतबाट सञ्चालन भइरहेको छ। कार्यालय खारेज हुँदा माथिल्लो कर्णाली क्षेत्रको खानेपानी आयोजना पनि प्रभावित भएको थियो। यसले काम गर्न आउने स्थानीयलाई सुर्खेत जानुपर्ने बाध्यता सिर्जना गरेको छ।
हाल जुम्ला फिल्ड कार्यालयमा ईन्जिनियर कपिल प्रसाद मोचीसहित तीन कर्मचारी खटाइएको छ, तर सबै काम सुर्खेतबाट व्यवस्थापन गर्नुपर्ने भएकाले समस्या देखा परेको छ। सङ्घीय खानेपानी कार्यालय सुर्खेतका प्रमुख भोलाप्रसाद थापाले धौलीगाड खानेपानी आयोजना तातो सिजनमा अघि बढ्ने र फिल्ड कार्यालयमा काम द्रुत गति दिन प्रयास भइरहेको जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij