कञ्चनपुर : अछामको मल्लेख गाउँपालिकाले करारमा कार्यरत ४८ जना अस्थायी कर्मचारीको नियुक्ति खारेज गरेको छ। कात्तिक ३० गते बसेको सातौँ कार्यपालिका बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार करार सम्झौता रद्द गर्ने निर्णय गरेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत संगीत ताम्राकारका अनुसार निर्णय लागू भएपछि मङ्सिर १ गतेदेखि करार कर्मचारीहरू कार्यालयमा हाजिर हुन छाडेका छन्। करार सम्झौता रद्द गरिएका कर्मचारीमध्ये रेडियोग्राफर एक, ल्याब सहायक ४, अनमी ६, स्टाफ नर्स १, मेडिकल अधिकृत १, वडा सहायक ८, कम्प्युटर अपरेटर १, सहायक कम्प्युटर अपरेटर १, आँखा उपचार केन्द्रका ३, प्राविधिक ३, खेलकुद प्रशिक्षक १, रोजगार शाखाका २, स्वीपर ८ र कार्यालय सहयोगी ५ जना रहेका छन्।
करार कर्मचारी हटाइएपछि गाउँपालिकामा सेवा प्रवाहमा समस्या बढेको जनाइएको छ। ताम्राकारका अनुसार कर्मचारी अभावका कारण नियमित कामकाज प्रभावित बनेको छ। आँखा उपचार केन्द्र हाल बन्द छ भने मेडिकल अधिकृत नहुँदा एक जना अहेबको भरमा स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ।
“कर्मचारी अपुग भएकाले सेवा प्रभावित भएको छ,” ताम्राकारले भनिन्, “सरकारको नीति मान्नैपर्छ, तर सेवा प्रवाहमा समस्या पक्कै परेको छ।”
उनीका अनुसार कार्यालयको सरसफाइदेखि दैनिक प्रशासनिक कार्यसमेत प्रभावित भएको छ। खाली दरबन्दी पूरा गरी परीक्षा मार्फत आवश्यक कर्मचारी भर्ती गर्ने प्रक्रिया अघि बढाइएको पनि ताम्राकारले जानकारी दिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij